समाज

व्यवसायीको ढोकामा पुगेर सिडिओले भने : ‘सामाजिक दुरी कायम गरिदिनुस’

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा माइकसहित सुरक्षाकर्मी साथमा लिएर खलंगाबजारमा निस्किएपछि धेरैले निषेधाज्ञा जारी हुने अड्कल काटे । केहीले लकडाउन कडा बनाउन कसरत भइरहेको भने । त केहीले सचेतना फैलाउन निस्किएको संकेत गरे । तर प्रमुख जिल्ला अधिकारी थापा बजारमा सामाजिक दुरी कायम गरिदिनुस भन्दै बजार क्षेत्रमा निस्किएका थिए ।  

सुरक्षाकर्मीसहित निस्केका प्रमुख जिल्ला अधिकारी थापा हरेक दोकान तथा होटलको ढोकामा पुगे । उनले भने,‘कोराना संक्रमण अन्त्य भइसकेको छैन । सामाजिक तथा ब्यक्तिगत दुरी कायम गरिदिनुस । यसैमा सबै जुम्लाबासीको हित हुनेछ ।’ प्रमुख जिल्ला अधिकारी नै ढोका ढोकामा पुगेर आग्रह गर्न थालेपछि व्यापारी तथा व्यवसायीले सामाजिक दुरी कायम गर्ने प्रतिबद्धता जनाए ।  

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘महामारीका रुपमा फैलिएको कोराना भाइरस फैलदो क्रममा छ । हेलचक्र्याई नगरौँ । आफू बचौ, अरुलाई बचाऔँ । सामाजिक तथा ब्यक्तिगत दुरी कायम गरौँ ।’ कोरोना भाईरसको संक्रमण तीब्र रुपमा बढि रहदा जुम्लामा भने पछिल्लो अवस्थामा लकडाउन निकै खुकुलो भइरहेको छ । संक्रमित सन्चो भएर घर फर्किएपछि र क्वारेन्टाईनमा बसेका धेरैको नतिजा नेगेटिभ आएपछि लकडाउनको स्वरुप बदलिएको थियो । धेरैलाई कोरोना भनेको सामान्य रुघाखोकी हो भन्ने भान भइरहेको छ ।

सरकारी कार्यालय, संघ संस्था र बजार खुले । तर स्वास्थ्य सुरक्षा सावधानी, सामाजिक दुरीको पालना भएन् । जताततै भिडभाड देखिन थालेपछि प्रमुख जिल्ला अधिकारी थापा आफै खटिएर कोेरोना भाइरसबाट बच्ने उपायका बारेमा जानकारी दिन थाले ।    

जुम्लामा २६ जनामा कोरोना देखिएकोमा २३ जना घर फर्किसकेका छन् । तीन जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा छन् । उनीहरु पनि कोरोन जितेर घर फर्कने तयारीमा छन् । सामाजिक दुरी तथा ब्यक्तिगत दुरी कायम गर्न आग्रह गर्दै  मास्क नियमित प्रयोग र सेनिटाईजर अनिवार्य हरेक पसलमा राख्न निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी थापासहित सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, सशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठ सहितका सुरक्षा प्रमुख, उद्योग बाणिज्य संघ र स्वास्थ्यकर्मी तथा पत्रकारहरु पनि त्यो कार्यमा परिचालित थिए ।  

पहिलो पटक आफै गएर सूचना दिईएको छ, प्रमुख जिल्ला अधिकारी थापा भन्छन,‘ त्यसपछि पनि सामाजिक दुरी र नियम पालना नभएमा कानून अनुसार कारवाही अगाडि बढाउन बाध्य हुनेछौँ । त्यसैले सरकारले निर्माण गरेको नियमको सबैले पालना गरेर बसौँ । ’

लकडाउन पुरै खुलेको छैन । कामै नभएका मान्छे बजारमा आएर भिडभाड गर्नु आवश्यक पनि छैन । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘केही परिआएमा आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्नेछ । विना काममा बजारमा घुम्न पाइनेछैन ।’ प्रमुख जिल्ला अधिकारी थापा नेतृत्वको टोलीले मोटरसाईकलमा एक जना मात्रै हिड्नुपर्नेमा दुईजना हिडिरहेका धेरैलाई झारेर पैदल हिड्न लगाएका थिए । मोटरसाईकल चालकलाई पहिलो पटक चेतावनी सहित पुनः दुई जना नचढाउने गरी सम्झाई बुझाई छोडिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामी बताउँछन् ।  प्रमुख जिल्ला अधिकारी थापा नेतृत्वको टोली बजारमा निस्कदा अधिकांस पसलमा सामाजिक दुरीको पालना नभएको र मानिसहरुको अत्याधिक भिडभाड भइरहेको भेटिएको थियो ।

अत्यावश्यक कामका लागि मात्रै बजारमा निस्कन, साबुन पानीले अनिवार्य हात धुन, मास्क सेनिटाईजर प्रयोग गर्न, होटलमा बसालेर चिया नास्ता नखुवाउन, पसल तथा होटलको अगाडि २ मिटरको दुरीमा घेरा हालेर दुरी कायम गर्न र हरेक पसलमा अनिवार्य सेनिटाईजर राख्न सुझाव दिइएको छ ।

यहाँका सरकारी कार्यालयमा समेत दुई मिटरको दुरी कायम गरी सेवा दिनुपर्ने छ । कार्यालय भित्र पस्दा साबुन पानीले हात धुनुपर्ने वा सेनिटाईजर र मास्क प्रयोग गर्नुपर्ने छ । यद्यपी यो नियम पालन नभएको खण्डमा कानून अनुसार कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ । प्रशासनले नभनको मात्र हो । कोरोना निर्मुल भइसक्यो भन्ने जस्तो गरेर निकै भिडभाड हुने गरेको छ । पछिल्लो समयमा असुरक्षित हुनेक्रम जुम्लामा बढेको छ । 

प्रकाशित: ८ असार २०७७ १६:५१ सोमबार

व्यवसायी सिडिओ सामाजिक दुरी कायम