समाज

पाल्पामा चार वटा सवारी साधन पहिरोले बगायो, दुई जनाको मृत्यु

पाल्पा गुल्मी सडकखण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउदा दुई जनाको शव फेला परेको छ । सोमबार साँझ तानसेन नगरपालिका वडा न. ११ सम्मोबारी भन्ने ठाउँमा गुल्मीतर्फ जाँदै गरेका सवारी साधनलाई पहिरोले बगाएको हो । प्रहरीले एक जनालाई भने उद्धार गरि अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । चार वटा गाडीमा क्षति पुगेको  र उद्धार कार्य चलिरहेको उनले बताए ।

पहिरोले  ट्याङ्कर, बोलेरो जीप, ट्रक र कारमा क्षति पुगेको छ । २ वटा सवारी साधन पहिरोसँगै बगेको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै आएको पहिरोले सवारी साधन बगाएको हो । गाडीहरु क्षतविक्षत भएका छन् । प्रहरी सहित नेपाली सेना र सशसस्त्र प्रहरी घटनास्थलको उद्धारमा खटिएको छ । अविरल वर्षाका कारण उद्धारमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित: ८ असार २०७७ १३:१६ सोमबार

मृत्यु सवारी साधन पहिरोले बगायो