समाज

दुई महिलामा कोरोना संक्रमण, सिन्धुमा संक्रमित २९ पुगे

सिन्धुपाल्चोकमा कोरोना संक्रमित दुई महिला थपिएका छन्। सुनकोसी गाउँपालिकास्थित क्षेत्रीय क्वारेन्टिनमा बस्दै आएका बलेफी गाउँपालिका–१ की २४ र बाह्रविसे नगरपालिका–७ की ३९ वर्षीया महिलामा कोरोना संक्रमण पाइएको हो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट महिलामा कोरोना पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए। बलेफीकी महिला भारतबाट फर्केकी हुन्। बाह्रविसेकी महिला भने कुवेतबाट आएकी थिइन्। गएको जेठ २९ गते कुवेतबाट उनीसँगै जिल्लामा फर्केका २३ मध्ये आठ महिलामा यसअघि नै कोरोना संक्रमण भेटिएको थियो।  

थपिएका दुई महिला संक्रमितलाई बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा राखेर उपचार गरिने बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले जनाए। योसमेत सिन्धुपाल्चोकमा संक्रमितको संख्या २९ पुगेको छ। संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ। उनी मुलुकमा कोरोनाबाट ज्यान गुमाउने पहिलो थिइन्।  

संक्रमितमध्ये कुवेतबाटै फर्केर भक्तपुरको खरिपाटी क्वारेन्टिनमा बसेका सिन्धुपाल्चोकका तीन महिलामा संक्रमण भेटिएको थियो। एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। पछिल्लो पटक थपिएका दुई महिलासहित २४ संक्रमितको जिल्लास्थित विभिन्न आइसोलेसन कक्षमा उपचार भइरहेको छ।

 

प्रकाशित: ८ असार २०७७ ०७:३० सोमबार

कोरोनाभाइरस