समाज

पाँंचतल्ले मन्दिरमा फहराइयो झण्डा

झण्डोतलन गरिएको भक्तपुरको भक्तपुर नगरपालिका ५ टौमढीस्थित पाँंचतल्ले (न्यातापोल) मन्दिर।

नेपालकै सवैभन्दा अग्लो भक्तपुरको पाँंचतल्ले मन्दिरमा सोमबार  झण्डोतोलन गरिएको छ। पाँंचतल्ले मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा झण्डा फहराइएको हो। यसलाई स्थानीय भाषामा भूषादान पनि भनिन्छ।  

सेतो कपडामा रातो चन्द्रआकार भएको ठूलो झण्डा फहराइएको हो। प्रत्येक वर्ष असाढ शुक्ल प्रतिपदाको दिन मन्दिरमा वर्षबन्धन गरी यसरी नै झण्डोतलन गर्ने परम्परा रहिआएको छ।  

यसका लागि सरकारकोतर्फबाट गुठी संस्थानले आवश्यक सामानहरु उपलव्ध गराइएको थियो। परम्परा अनसार भक्तपुरको तुछिमला टोलस्थित अवाल समुदायबाट प्रत्येक वर्ष झण्डोतोलन गरिन्छ। झण्डै एक दर्जनको संख्यामा रहेका उनीहरुले मन्दिरभित्र पसी झण्डोतलन गरेका थिए। प्रत्येक वर्ष पाँंचो तल्लाको गजुरमै झण्डोतलन गर्ने परम्परा छ।  

भक्तपुरमा थर अनुसार पेशा गरिन्छ। अवाल थर भएकाहरुको पुख्र्यौली पेशा घर बनाउने हो। त्यसकारण अवाल थर भएकाहरु घर बनाउन पारम्गत हुन्छन्। यसकारण उनीहरुलाई नै प्रत्येक वर्ष झण्डोतलन गराइन्छ। प्रत्येक वर्ष पानीपर्ने असार महिनामै अग्लो पाँंचतल्ले मन्दिरको छानामा चिप्लोबाट जोगिएर होसियारीपूर्वक जानुपर्ने भएकाले अवालहरुलाई यो काममा लगाइने बताइन्छ।    

झण्डोतलनको यो कार्यमा भक्तपुर तलेजका रकमी पुजारीहरु पनि सहभागी हुन्छन्। तलेजुका मुल नाइके नरेन्द्रप्रसाद जोशीले परम्परा अनुसार यस वर्ष पनि मन्दिरमा झण्डोलन गरेको जनाए।    

वर्षबन्धनको अवसरमा पाँंचतल्ले मन्दिरका पुजारी यज्ञमान कर्माचार्यले मन्दिरभित्रको सिद्धिलक्ष्मी (न्यातापोल) को विशेष पूजासमेत गरेका थिए। राजोपाध्याय पुजारी, जोशी पुजारी, कर्माचार्य पुजारीहरु र ताल्चाभडेल, चोकाभडेलहरु बसी पदतिबमोजिम विशेष पुजा सुसम्पन्न गरिएको थियो। पुजामा तलेजका नकीहरु (महिला नाइके), सुवाल, राजभण्डारी, राजचललगायतका थरका सामेल थिए। पूजाकै अवसरमा छागबली       (बोकावली) र हाँंसवली दिइएको थियो। आजकै दिन मात्रै त्यहाँं बली दिने गरिन्छ। नित्य पुजा भने विहान दैनिक गरिन्छ। साँंझको आरतीसमेत दिइन्छ।  

नेपाल सम्वत ८ सय २२ मा राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सुसम्पन्न गरी श्री सिद्धिलक्ष्मी देवीलाई पाँंचतल्ले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ। त्यही बेलादेखि नै प्रत्यके वर्ष वार्षिकोत्सवको अवसरमा झण्डौतलन गर्ने गर्दै आएको बताइन्छ। 

प्रकाशित: ८ असार २०७७ ०५:४४ सोमबार

पाँंचतल्ले मन्दिर