समाज

पिसिआर रिपोर्ट नेगेटिभ आएका ३९ जना घर फर्काइए

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टिनबाट ३९ जनालाई घर फर्काइएको छ । भारतबाट आएपछि स्वास्थ्य चौकी महादेवस्थानको क्वारेन्टिनमा राखिएका ३७ जना र जनता माबि सल्लेको क्वारेन्टिनमा राखिएका २ जनालाई शनिबार विदाई गरिएको हो ।  

भारतबाट आएपछि क्वारेन्टिनमा राखिएका उनीहरुलाई शनिबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि खादा ओढाएर बिदाई गरिएको नगरपालिकाले जनाएको छ । भारतबाट आएका उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने शर्तमा घर फर्काइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताए ।  

उनीहरुको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि असार १ गते बिराटनगर पठाइएको थियो । नगरपालिकाबाट पिसिआर परीक्षणका लागि स्वाब पठाएको यो तेश्रो पल्ट हो । हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा चार जना संक्रमित फेला परेकामा सबै निको भएर डिस्चार्ज भइसकेका छन् । 

प्रकाशित: ६ असार २०७७ १४:२२ शनिबार

पिसिआर रिपोर्ट घर फर्काइए