केही दिनदेखि देशभर वर्षा भइरहेकाले बाढी, पहिरो तथा डुबान हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न सूचना जारी गर्दै केही दिनदेखि देशभर दैनिक वर्षा भइरहेका कारण नदीमा जल सहत बढ्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्ने तथा ढल÷पानीको राम्रो निकास नभएका क्षेत्रमा डुवान हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो।
यस्तै बाढी पूर्वानमान महाशाखाले पनि सूचना जारी गर्दै आज (शनिबार) नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, गुल्मी, पाल्पा, बागलुङ, प्युठान र आसपास मध्यम-भारी वर्षा भएकाले उक्त स्थान आसपास भई बहने ससाना खोलामा बहाव बढ्दो रहेको जानकारी दिएको छ।
पश्चिम राप्ती नदीको तल्लो तटीय क्षेत्र दाङ र बाँकेमा पनि जलसतह बढ्दो रहेको र सतर्कता तहसम्म पुग्न सक्ने सम्भावना रहेकाले यी क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित: ६ असार २०७७ ०९:२५ शनिबार