समाज

अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान

चन्द्रागिरि नगरपालिकाले नौ जना अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। चन्द्रागिरि नगरपालिका–११ले आज बिहान आफ्नो वडामा रहेका शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति र वृद्धवृद्धालाई विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय सतुङ्गलमा सम्मान गरेको हो।  

चन्द्रागिरि नगरपालिका–११ का अध्यक्ष हरिभक्त महर्जनले नेपालमा दिनानुदिन बढ्दै गएको कोभिड–१९ का कारण समस्यामा परेका अपाङ्ग व्यक्ति र ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग गरिएको जानकारी दिए। उक्त वडाले शारीरिकरुपमा अपाङ्ग भएका व्यक्तिलाई सिरक, डसना, लगाउने कपडा, प्रेसर कुकर, पङ्खा, छाता, माक्सलगायत सामग्री सहयोगसमेत गरेको छ। यस्तै, ज्येष्ठ नागरिकलाई भने कन्फ्लेक्स, बिस्कुट, माक्स र छाता वितरण गरेको छ।  

अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले ज्येष्ठ नागरिकले प्राप्त गरेको अनुभव र ज्येष्ठ नागरिकले समाजमा पु¥याएको योगदानलाई आगामी पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गरे। ज्येष्ठ नागरिक समाजको सम्मानित व्यक्ति भएको उनको भनाइ थियो। चन्द्रागिरि नगरपालिकाको ११ वडामा सतुङ्गल क्षेत्र पर्दछ।  

प्रकाशित: ६ असार २०७७ ०७:४३ शनिबार

सम्मान अपाङ्गता