समाज

संक्रमित बढ्दै, स्याम्पल थपिँदै

‘संक्रमितको बारम्बार नमूना परीक्षण गर्नुपर्दा रिजल्ट आउन ढिलाई’

विभिन्न जिल्लामा कोरोना भाईरसका संक्रमित थपिने क्रम बढेसँगै यहाँको प्रयोगशालमा परीक्षणका लागि ल्याइएका स्याम्पलको चाङ लाग्ने गरेको छ। संक्रमणको आशंकामा संकलन गरिएका नयाँ र पहिल्यै संक्रमण पुष्टि भएका व्यक्तिलाई निको भए नभएको पत्ता लगाउन दोहोर्याएर स्याम्पल परीक्षण गर्नुपर्दा झनै ढिलाई हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। 

यहाँको प्रयोगशालामा दैनिक तीनसयको हाराहारीमा ‘स्याम्पल’ थपिने गरेका छन्। ती मध्ये केही नयाँ र कतिपय पुराना संक्रमितको स्याम्पल हुने गरेको छ। एकपटक संक्रमण पुष्टि भएका व्यक्तिलाई निको भए नभएको पत्ता लगाउन बारम्बार परीक्षण गर्नुपर्दा पनि ढिलाई हुने गरेको जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले बताइन्र।  संक्रमण पुष्टि भएका व्यक्तिको शारिरिक अवस्था हेरेर ८–१० दिनपछि दोहोर्याएर परीक्षण गर्ने गरिएको छ।

प्रदेशका विभिन्न जिल्लामा दिनहुँजसो संक्रमण बढ्दो छ। गण्डकी प्रदेशमा विहीबार कोरोनाका ७७ जना संक्रमित फेला परेकोमा शुक्रबार थपिएका संक्रमितको संख्या ५६ रहेको छ। प्रदेशभित्र ३८० जना संक्रमित पुगेकोमा अहिलेसम्म ३४ जनामात्र निको भएर घर फर्किएका छन।  

गण्डकी प्रदेशका विभिन्न जिल्लामा अहिले भारतबाट फर्किने युवाहरुको संख्या बढिरहेको र उनै युवाहरुमै संक्रमण देखिएकोले पनि परीक्षणको दवाव बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ। ‘निको भयो की भन्ने हतासमा जिल्लाबाट छिटोछिटो गरेर स्याम्पल पठाउने गरिएको छ। कपितय जिल्लाका अस्पतालले त पहिलो संक्रमण पुष्टि भएको आठ दिनमै संक्रमितको दोश्रो स्याम्पल पठाउने गरेका छन,’ उनले भनिन, ‘त्यसले गर्दा पनि हामीमाथि नै दवाव छ।’ सिमित संख्यामा रहेका आइसोलेसन बेड व्यवस्थापन गर्न समस्या परेकोले पनि संक्रमितलाई छिटो निको होस भन्ने चाहना राख्दै परीक्षणका लागि जिल्ला अस्पतालले नमूना पठाउने गरिएको उनले बताईन।  

‘पहिलो संक्रमण पुष्टि भएका व्यक्तिलाई कुनै लक्षण नदेखिए १४ दिनपछि घर पठाउने सकिने सरकारी प्रोटोकल भएपनि समाजले स्वीकार्न नसक्दा पुन स्याम्पल परीक्षण गर्ने गरिएको छ,’ सुवेदीले भनिन, ‘कतिपय व्यक्तिको त ३–४ पटक नै स्याम्पल परीक्षण गर्नुपर्छ। त्यसले पनि हामीमाथि नैै दवाव पर्छ।’ संक्रमितलाई निको भए नभएको पत्ता लगाउन दोहो¥याएर गरिने परीक्षणको प्रक्रिया पनि सुरुकै जस्तो हुने भएकोले पनि समय लाग्ने गरेको उनले सुनाईन्।

प्रयोगशालामा पहिला एउटा मेसिनले मात्र परीक्षण भईरहेको थियो। अघिल्लो साता दोश्रो मेसिन थपिएको छ । ‘थपिएको नयाँ मेसिनले पनि पूर्ण क्षमतामा परीक्षण गर्न थालेको छ,’ सुवेदीले भनिन, ‘अब केही सहज त भएको छ। तर, संक्रमित थपिने क्रम रहेकोले नमूना पनि बढेको बढ्यै छन्।’ ‘दैनिक तीनसय हाराहारीमा स्याम्प्प थपिन्छन। हामीले दिनमा चारसय हाराहारीमा परीक्षण गर्न सकेका छौ। पहिले एउटा मात्र मेसिन हुँदा त झनै ढिला भएको थियो। अहिले भने अर्काे मेसिन थपिएपछि केही राहत मिलेको छ,’ उनले भनिन।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार कोरोनाका संक्रमितलाई निको भए नभएको पत्ता लगाउन दोहो¥याएर परीक्षण गर्नुपर्छ। त्यसले गर्दा अहिलेका सबै संक्रमितको नमूना पुन परीक्षण गर्नुपर्छ। ‘सामान्य अवस्थाका संक्रमितको पहिलो संक्रमण पुष्टि भएको १०–१२ दिनपछि दोश्रो पटक परीक्षण गर्छाै,’ शर्माले भने, ‘तर संक्रमितको स्वास्थ्य अवस्थामा पनि फरक पर्छ। शारिरिक अवस्था हेरेर ६ दिनको अन्तरमा पनि परीक्षण गर्नुपर्ने हुन्छ।’  

उनका अनुसार दोहो¥याएर गरेको परीक्षणमा पनि पोजेटिभ रिजल्ट देखिएमा अभैm केहीदिन कुराएर पुन स्याम्पल संकलन गरेर परीक्षण गर्नुपर्छ। ‘एकै संक्रमितको बारम्बार परीक्षण गर्नुपर्दा पनि दवाव पर्छ। नयाँ स्याम्पलको चाँप पनि उत्तिकै छ। पुरानाको पनि परीक्षण गर्नुपर्छ,’ उनले भने। शर्माका अनुसार संक्रमितको नमूनाको रिजल्ट एकपटक नेगेटिभ आएपछि अहिले घर फर्काउने गरिएको छ। सुरुवाताताका लगातार दुईपटकसम्म नेगेटिभ रिजल्ट आउनुपर्ने मापदण्ड रहेकोमा अहिले एकपटककै नेगेटिभ रिजल्टलाई मान्यता दिन थालिएको उनले बताए।

यतिबेला भारतबाट भित्रिनेको संख्या बढिरहेको छ। शर्माका अनुसार अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा करिब ६ हजार जना व्यक्ति क्वारेन्टिनमा बसिरहेका छन्। सबैभन्दा बढी नवलपुरमा १४ सय, बागलुङमा १५ सय र स्याङजमा १२ सय हाराहारीमा क्वारेन्टिनमा रहेका छन्। अरु जिल्लामा पनि सयौं व्यक्ति क्वारेन्टिनमा रहेका छन्। क्वारेन्टिनमा रहेका र थपिने क्रम अझै बढिरहोकोले पनि संक्रमण बढ्ने जोखिम रहेको शर्माले बताए।

गण्डकी प्रदेशका ११ मध्ये अहिलेसम्म १० जिल्लामा संक्रमण फैलिइसकेको छ। प्रदेशभित्रको हिमाली जिल्ला मुस्ताङमा मात्र अहिलेसम्म कोही संक्रमित फेला परेका छैनन। अर्काे हिमाली जिल्ला मनाङमा विहीबार मात्र एक कर्मचारीमा संक्रमण देखिएको थियो।  

अहिलेसम्म सबैभन्दा बढी नवलपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि पहाडि जिल्ला स्याङजामा ७५ जनामा संक्रमण देखिएको छ। बागलुङमा पनि ६६ जनामा संक्रमण पुष्टि भईसकेको छ। पर्वतका ४३ र म्याग्दीका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यसबाहेक गोरखामा ३६, तनहुँमा ४३, कास्कीमा १३,  मनाङ र लम्जुङका एक–एकजनामा पनि संक्रमण पुष्टि भएको छ। अहिलेसम्म प्रदेशका एकजनाको मात्र कोरोनाका कारणले ज्यान गएको छ।  

शुक्रबार पर्वतमा संक्रमण पुष्टि भएका पाँचजना त्यहाँको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन्। तीन महिला र दुईजना पुरुष गरि पाँजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो। पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले विज्ञप्ती जारी गरेर अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवा बन्द रहेको बताएका छन्।  

प्रकाशित: ५ असार २०७७ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App