समाज

कर्मचारीबाटै मनाङ उक्लियो कोरोना

हिमालपारीको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ७७ जना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन् ।  

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोदबिन्दु शर्माका अनुसार मनाङमा फेला परेका संक्रमित चामे गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । ५७ वर्षका ती पुरुष कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का हुन् । कपिलबस्तुबाट झन्डै २५ दिनअघि उनी कार्यालय फर्किएका थिए । ‘कर्मचारीबाटै मनाङसम्म कोरोना उक्लिएको छ,’ उनले भने, ‘अहिलेसम्म एकजनामा मात्र संक्रमण देखिएको र उनी सुरक्षित बसेकाले पनि अरुलाई संक्रमण नदेखिन सक्छ ।’  

मनाङ पुगेका ती कर्मचारी बास बसेको लम्जुङको होटल सहित उनको सम्पर्कमा आएका सबै व्यक्ति पत्ता लगाएर परीक्षण गर्ने तयारी भएको शर्माले बताए । ‘उनमा संक्रमण पुष्टि भएपछि बास बसेको लम्जुङको होटल सहित सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाउने काम गरिरहेका छौ,’ शर्माले भने, ‘ती कर्मचारी सिधै क्वारेन्टिनमा बसेकोले अरुलाई जोखिम कम होला । तरपनि कन्ट्याक्ट ट्रेसिङको काम गर्देछौ ।’  

पहिलोपटक हिमाली जिल्ला मनाङमा फेला परेका संक्रमित जिल्लाको चामेस्थित विद्यालयको क्वारेन्टिनमै बसिरहेका थिए । जेठ २७ गते उनको नमूना परीक्षणका लागि पोखरा पठाएको मनाङ स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले बताए । मनाङको विद्यालयमा बनाइएको त्यो क्वारेन्टिनमा उनीसहित १० जना बसिरहेका थिए । उनीहरु सबै नेपालका विभिन्न जिल्लाबाट मनाङ फर्केका थिए ।  

‘संक्रमण पुष्टि भएपनि उनमा कुनै स्वास्थ्य समस्या छैन । अहिलेसम्म कुनै समस्या र लक्षण पनि नदेखिएकोले जिल्लाकै अस्पतालको आइसोलेसनमा राख्छौ,’ आचार्यले भने । मनाङमा अरु जिल्लाबाट उक्लिएका जो कोही व्यक्तिलाई पनि क्वारेन्टिनमा राख्ने गरिएको उनले बताए ।

अहिलेसम्म सबैभन्दा बढी नवलपुरमा ९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि पहाडि जिल्ला स्याङजामा ७३ जनामा संक्रमण देखिएको छ । बागलुङमा ४२ जनामा संक्रमण पुष्टि भईसकेको छ । पर्वतका ३८ र म्याग्दीका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । गोरखामा ३६, तनहँुमा २६, कास्कीमा ७,  मनाङ र लम्जुङका एक–एकजनामा पनि संक्रमण पुष्टि भएको छ । अहिलेसम्म २२ जनामात्र निको भएर घर फर्किएका छन । कोरोनाका कारणले ज्यान गएको छ ।  

भारतबाट आउने युवाको संख्या बढिरहेकोले संक्रमित थपिने क्रम पनि जारी रहेको निर्देशक शर्माले बताए । ‘भारतबाट फर्केका करिब ६ हजार युवाहरु अहिले विभिन्न जिल्लाको क्वारेन्टिनमा बसेका छन् । अरु व्यक्तिको आउजाउमा हिमाली जिल्लामा निकै कडाई गरिएको छ । बाहिरी जिल्लाबाट गएका जो कोहीलाई पनि क्वारेन्टिनमा बस्नुपर्ने बाध्यकारी मनाङ र मुस्ताङमा छ ।

प्रकाशित: ५ असार २०७७ १०:३५ शुक्रबार

कोरोना संक्रमित कोरोना संक्रमण मनाङ