समाज

आइसोलेसन बेड तयार नहुँदा संक्रमित क्वारेन्टिनमै

बिहिवार थपिएका ११ जनासहित गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । पालुङटार नगरपालिकाका एक महिलासहित ७ जना र शहिद लखन गाउँपालिकाका चार जना पुरुषमा कोरोना पुष्टि भएको हो ।  

कोरोना संक्रमितको संख्या बिहिवार ११ जना थपिएपछि गोरखा क्याम्पसमा २५ बेड आइसोलेसन तयार भयो । यस अघि गोरखा अस्पतालमा रहेको आइसोलेसनको २४ बेडमा बिरामी भरिएपछि हतार हतार थपिएकाहरुलाई गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा राख्ने योजना बन्यो । तर सय बेडको आइसोलेसन तयार गर्न खटिएकाहरुले संक्रमित ल्याएर राख्दा काम प्रभावित हुने बताएपछि बिहिवार संक्रमण पुष्टी भएका ११ जना आइसोलेसन ल्याइएन । उनीहरु यस अघि बस्दै आएको स्थानीय तकको क्वारेन्टिनमा रहेको शहिद लखन गाउँपालिका ७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।  

बिहिवार पालुङटार नगरपालिकाका ७ जना, शहिदलखन गाउँपालिकाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरुमा कोरोना देखिने क्रम बढेसँगै आइसोलेसन निर्माणले गति लिएको छ ।  

‘एक सय बेडको आइसोलेसन निर्माण गर्ने योजनासहित गोरखा क्याम्पसमा काम भईरहेको छ’ जिल्ला समन्वय प्रमुख एवं आइसोलेसन एवं कोष ब्यवस्थापन समितिका संयोजक अशोक गुरुङले भने । एक दुई दिनभित्र सय वेड तयार गर्ने गरी दु्रत गतीमा काम भईरहेको उनले बताए ।  

बुधवारदेखि आइसोलेसन निर्माणको काम सुरु भएको हो । सिसि क्यामेरा जडान, क्याम्पसको कक्षाकोठामा कार्पेट बिछ्याउने, विद्युत, पानीको ब्यवस्थापन, बेड लगायत आवस्यक सामग्री जुटाउने काम धमाधम भईरहेको समितिका सदस्य एवं गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए । ‘प्राविधिक स्टमेट आएपछि हामीलै सबै कामको जिम्मा लगाईसकेका छौँ, धेरै समय लाग्दैन, धमाधम भईरहेको छ ।’  

बिहिवार कोरोना देखिएका सबै भारतबाट आएको पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले बताए । ‘भारतबाट आएर सिधै क्वारेन्टिनमा बस्नुभएको हो’ नगरप्रमुख कंडेलले भने । शहिद लखन गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टिमा रहेकाहरु पनि भारतबाट आएको गाउँपालिकाले जनाएको छ ।  

यसअघि गण्डकी गाउँपालिकाका ९ जना, गोरखा नगरपालिकाका ७ जना, भिमसेन थापा गाउँपालिकाका चार जना, बारपाक सुलिकोट गाउँपालिकाका २ र काभ्रेका एक र पालुङटारका एक जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित: ४ असार २०७७ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App