समाज

चौरजहारी घटना: जसले साथीका लागि बलिदानी दिए

आर्मी बन्ने सपना तुहियो

जेठ १० गते रुकुम (पश्चिम) को चौरजहारी सोतीगाउँमा प्रेमिका लिन गएका ६ जना युवाको ज्यान गएपछि देश तातेको छ। अन्तरजातीय प्रेम गरेका जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकले त ज्यान गुमाए, साथ दिन गएका पाँच जना युवाहरूले पनि साथीका लागि बलिदान दिए। साथीको खुसीका लागि हिँडेका नवराजका सारथी रानागाउँका सञ्जु विक, गणेश बुढामगर, मटेलाका गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम नेपालीले आफ्नो सपना पनि भेरीमा बगाएका छन्। भेरीमा युवाहरूको सपनामात्रै बगेको छैन, परिवारको भरोसा पनि टुटेको छ।  

पासर्पोट तयार थियो

नवराज विकलाई साथ दिनेमध्येका सबैभन्दा कान्छा थिए गोविन्द शाही। नवराजसँग उनको प्रत्यक्ष चिनजान होइन। मटेलाका लोकेन्द्र सुनारको हितैषी भएकाले पश्चिम रुकुमको चौरजहारी सोतीगाउँसम्म पुगेका थिए। नवराजकै लागि गोविन्दले आफ्नो ज्यान बलिदान गरेका छन्।

जाजरकोट–खलंगा–डोल्पा सडकखण्डको मटेला पुलमा एक तले घर छ, जहाँ गोविन्दकी आमा भीमेकुमारीले सामान्य खाजा नास्ताको होटल चलाउँदै आएकी छन्। गोविन्दको घरछेउबाट भेरीको झोलुङ्गे पुलले रुकुम पश्चिमको चौरजहारी र जाजरकोट जोडेको छ। मानिसहरूको जमघट हुने भएकाले आमा भीमेकुमारीले अर्काको जुठोभाडा माझेर घरखर्च चलाउँदै आएकी छन्। गोविन्द यो वर्ष एसइईको तयारीमा थिए। आर्थिक अवस्था त्यति राम्रो नभएकाले एसइई दिनेबित्तिकै विदेश जाने तयारीमा थिए।  

‘पढ्न पैसा थिएन, विदेश जान्छु भनेकाले एक वर्ष उमेर बढाएर पासपोर्ट बनाइदिएका थियौं,’ आमा भीमेकुमारीले छोराको फोटो हेर्दे भनिन्, ‘पापीहरूले मारेर भेरीमा फाले।’ गोविन्द घरका कान्छा छोरा हुन्। कोरोना महामारीपछि एसइई रोकियो। फुपू यमुना शाहीका अनुसार एसइई दिनेबित्तिकै काठमाडौं हुँदै मलेसियातिर पठाउने कुरा भइरहेको थियो।  

आर्मी बन्ने सपना तुहियो

नवराजको नातेदारसमेत हुन पुगेका सन्दीप भनिने सञ्जीव विक। भेरी नगरपालिका–४ जाजरकोट रानागाउँका विक उमेरले नवराजभन्दा सानो भए पनि पारिवारिक रूपमा भने पाको भइसकेका थिए। नाहकमा परिवारको जेठो छोराको हत्या भएपछि यो परिवार विक्षिप्त बनेको छ। सञ्जुका बुबा पनि आर्मीका जागिरे थिए। छोरालाई पनि आर्मी बनाउने तयारी भइरहेको थियो। ‘भर्ती हुनका लागि बिहान–बिहान दौडन्थ्यो, त्यसैको भरमा थियौं हामी,’ आमा सविताले भनिन्।  

युवाहरुको सपना मात्रै बगेको छैन, परिवारको भरोसना समेत टुटेको छ। आर्थिक रुपमा विपन्न परिवारको सहारा पनि भेरीले बगाएको छ।  

नवराजले प्रहरीमा नाम निकालेपछि सञ्जुलाई पनि हिम्मत बढेको थियो। बुबा बलराम नेपाल बैंक लिमिटेडमा सुरक्षा गार्डका रूपमा कार्यरत छन्। जसोतसो घरखर्च चलेको थियो। तर जीवनको एउटा मुख्य मियो ढलेको छ। छोराको क्षतविक्षत शव भेरी नदीबाट बुबाले उठाउनुपर्दा पीडाको कुनै सीमा रहेन।  

‘बेहुली लिन गएका थिए, साथीका लागि मेरो छोराले ज्यान गुमायो,’ बुबा बलरामले भने। सञ्जुले यो संसार त छाडेपछि सबैभन्दा बढी पीडा र छटपटिएकी छन्, उनकी पत्नी सविना विक। चार वर्षका छोरा साहिलले बेलाबेलामा बाबा खोजिरहन्छन्। ‘मेरो जिन्दगीको सवाल एकातिर छ,’ सविनाले भनिन्, ‘तर अहिले हामीले पतिको हत्यामा संलग्नलाई कारबाही गर्न खोजिरहेका छौं।’

पसल खोल्ने तयारीमा

साथीका लागि जीवन त्यागेका रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपाली (सुनार) को परिवारमा तीन सातादेखि सनान्टा छ। पल पलमा अधिकारकर्मी र पत्रकारहरूले पिडा कोट्याउछन्, अनी टीकारामको अधुरो सपनाले परिवारमा थप अत्यास थपिन्छ।

टीकाराम घरको साहारा थिए। एक छोरा र एक छोरीसहित दैनिक ज्यालादारी मजदुरी गरेर परिवारको खर्च धान्दै आएका चोमै नेपालीको दाहिने हात भाँचिए जस्तै भएको छ। कक्षा ११ मा भर्ना भएका टीकरामले घरको आर्थिक अवस्था कमजोर भएकै कारण नियमित आम्दानीको खोजीमा थिए। एसइई दिँदादेखि नै मोबाइल मर्मत, सोलार जडान गर्ने (मेकानिक्स) को काम सिकेका थिए।  

सुर्खेतमा गएर केही समय मोबाइल तथा कम्प्युटर मर्मत गर्ने काम पनि सिकेका थिए। काम सिकिसकेका टीकारामले सल्यानको नेटा बजारमा एक जना नातेदारको पसलमा काम पनि शुरु गरेका थिए। लकडाउन भएपछि काम नहुने भएकाले घरमै थिए। सानै उमेरमा विवाह गरेकाले उनमा थप पारिवारिक जिम्मेवारी  

पनि थियो। ‘आर्थिक अवस्था कमजोर भएकाले छोराले सिप जानेर पनि पसल खोल्न सकेका थिएनौं, लकडाउनपछि ऋण गरेर भए पनि पसल खोल्ने तयारी थियो,’ बुबा चोमैले भने, ‘तर आफ्नै छिमेकीले निर्दयी बनेर हत्या गरे।’

जेठो पहिलो सातातिर जाजरकोट मटेला ससुराली गएका थिए टीकाराम। मामाघर र ससुराली एकैतिर भएकाले उनी धेरै दिन भुलिए। ‘नवराज साथी भएकाले उनको साथमा लाग्दा आफैंले ज्यान गुमाउनुप-यो,’ पत्नी  सुनिताले भनिन्।  

टीकाराका दुई वर्षको छोरी छन्। ‘आर्थिक अवस्था निकै दयनीय छ। घर पनि अर्काको जग्गामा छ, त्यही छोराको भरमा थियौं,’ आमा गिताले दुखेसो पोखिन्, ‘हामी त बेसहारा बन्यौं।’

आत्मनिर्भर लोकेन्द्र  

लोकेन्द्र सुनार नवराजका साथीमात्रै होइन, दाजुभाइ नै थिए। प्रेमिका लिन हिँडेकामध्ये केही साथीहरू जाजरकोट भेरी नपा–११ मटेलाका १८ वर्षीय लोकेन्द्रमार्फत सोतीगाउँ हिँडेका थिए।

कमजोर आर्थिक अवस्था भएकाले कक्षा नौबाटै पढाइ छाड्नुप¥यो। ४९ वर्षीया आमा लक्ष्मी सुनार अहिले सहाराविहीन भएकी छन्। गत वर्ष बस दुर्घटना हुँदा पति लक्ष्य सुनारलाइ गुमाए। यो वर्ष नवराजसँग बेहुली लिन हिँडेको बेला सोती गाउँका स्थानीयको आक्रमणले छोरा गुमाउनुप¥यो। ‘म त अब बाँच्न पनि गाह्रो भयो, मैमाथि किन यति ठूलो बज्रपात भइरहेको छ ?’ लक्ष्मीले प्रश्न गरिन।  

लोकेन्द्र र एक छोरीका साथमा थिईन उनी। छोरी पनि बुबासँगै दुर्घटना हुँदा अशक्त छन्। काम गर्न सक्दीनन्। जुन छोरालाई सहारा मानेकी थिइन्, उसको हत्या भए पछि उनी विक्षिप्त भएकी छन्। घरमा आर्थिक अवस्था कमजोर भएकाले लोकेन्द्रले पनि आमालाई साथ दिन सुनचाँदीको काम सिकेका थिए। सुर्खेतमा गएर काम सिकेका उनले गाउँमै सुनचाँदी पसल खोल्ने तयारीमा थिए।  

सुनचाँदी पसल खोलेर आमा र बहिनीको सहारा बन्ने लोकेन्द्रको सपना सोतीगाउँले चुँडाइदियो। लोकेन्द्र त भेरीसँगै बगे, आमाको दुःख भने बाढीजस्तै गरी उर्लिएको छ। ‘जो पनि आउँछ, छोराकै बारेमा सोध्छन्, मेरो छोरालाई कुटेर, ढुंगैढुंगाले हानेर मारिएको छ, म अब जबाफ दिन सक्दिनँ, न्याय चाहियो’ उनले भनिन्।  

घरमै बस्ने योजना  

१९ वर्षीय गणेश बुढा मगर पनि एसइई दिने तयारीमा थिए। निम्न वर्गमा जन्मिएका गणेशले परिवारलाई भन्ने गर्थे, ‘खलंगातिर आफ्नै घर बनाउनुपर्छ।’ गणेशको जन्म जाजरकोटको कुशे गाउँपालिकामा भएको हो। खलंगामा मजदुरी गर्न सजिलो हुने भएकाले डेढ दशकदेखि सपरिवार रानागाउँस्थित एक घरमा भाडामा बस्दै आएका थिए। दाजु भरत बुढा मगरले भाइलाई गुमाउनुपर्दा ठूलो पीडा परेको बताए।

‘दुःख गरेर भए पनि कम्तीमा एसइई दिने अवस्थामा पुगेको थियो, उसैको भरमा थियौं हामी,’ उनले भने, ‘तर आज भाइको यो गति भयो।’ उनका अनुसार सकेसम्म पढ्ने–पढाउने योजना भए पनि गणेशले पारिवारिक आर्थिक कमजोरीबाट माथि उठ्न विदेश जाने सोच बनाएका थिए। उमेरले नवराजभन्दा सानो भए पनि उनीहरू मिल्ने साथी थिए।

प्रकाशित: २ असार २०७७ ०५:०२ मंगलबार

चौरजहारी घटना अन्तरजातीय प्रेम