समाज

एउटै वडामा ४६ जना कोरोना संक्रमित भेटिए

कर्णालीमा आइतबार मात्रै एक सय १० जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। दैलेखमा ९१ र सुर्खेतमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्।प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा दैलेखका ८८ र सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा दैलेखका तीनजनामा कोरोना पुष्टि भएको हो। जसमा दुई वर्षीय बालक र पाँचजना महिला पनि छन्। सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिका–१, मा ४६ जना कोरोना संक्रमण देखिएका छन्। योसंगै नौमुलेमा ८८, दुल्लु नगरपालिकामा एक, नारायण नगरपालिकामा दुई र देवलकाँडामा एकजना कोरोना संक्रमति देखिएको स्वास्थ्य सेवा महाशाखाका महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए। त्यस्तै सुर्खेतको बराहतालमा तीन, चौकुनेमा तीन, लेकवेशीमा चार, सिम्तामा एक र पञ्चपुरीमा आठजनामा कोरोना संक्रमण देखिएको छ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ७७ पुगेको छ । हालसम्म सबै कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन्। कालीकोट अस्पतालबाट २५, प्रदेश अस्पताल सुर्खेतबाट २३, लेकवेशी आइसोलेसन सेन्टरमा नौ जना गरी आइतबार ५७ जना कोरोना सञ्चो भएर डिस्चार्ज भएका छन्। योसँगै कर्णालीमा कोरोनाबाट निको हुने संख्या एक सय ५१ पुगेको छ।

प्रकाशित: १ असार २०७७ ११:१३ सोमबार

कोरोना संक्रमित