फेवाताल, पोखराको शान, लेकसाईडको पहिचान अनि जलारीको जीवन जोडिएको छ । ताल फोहोर हुदाँ मन कुडिन्छ । जलचर प्रभावित हुन्छन् । पर्यावरणमा प्रदुषित हुन्छ । चराचुरुङीको सिमसार फोहोरले दुर्गन्धित हुदैं गएको छ ।
वर्षेनी फेवाताल सरसफाई हुन्छ । केवल जलकुम्भी झार फाल्ने काम हुदै आएको छ । जलकुम्भी झार फाल्न विभिन्न समुह फेवातालको पानीमा होमिन्छन् । कोभिड–१९ महामारीको बन्दाबन्दीकै बीच जलारी समुदायले तालको सरसफाई गरे । पारिश्रमिक लिदैं तालको सरसफाई गर्दा माछा संरक्षण समेत महत्वपूर्ण टेवा पुग्यो ।
लकडाउनले आन्तरिक तथा बाह्य पर्यटन फेवाताल सयर शून्य छ । तालमा प्लाष्टिकजन्य बस्तुहरू थुप्रिदैं गएको छ । हर्पन खोला, अधेँरी खोला, लौरुक खोला, बेतनी खोला एवं खहरेहरू तथा फिर्के खोलाले बगाएर ल्याउने प्लाष्टिकजन्य वस्तुहरू समेत तालमा तैरिने गरेको छ । केवल जलकुम्भी झार मात्रै फाल्दै आइएको थियो ।
लेकसाईड क्षेत्रकै युवाहरूको सक्रियतामा फेवातालमा वर्षौदेखि रहेको प्लाष्टिकका फोहोर निकाल्ने अभियान शुरु गरिएको हो । अभियान १६औं दिन पुगिसकेको छ । अभियानलाई ४५ दिनसम्म लैजाने योजनामा युवाहरूको लक्ष्य छ । ‘फेवातालको खपौदी क्षेत्रको माथिल्लो भेगबाट फोहोर उठाउन शुरु गरेका हौं ,’ फोहोर सरसफाई अभियानका सदस्य विशालजंग थापाले भने, ‘अहिले स्वतह स्फुर्त रुपमा १२ जनाले प्लाष्टिकका फोहोर संकलन गर्दै डुंगा मार्फत किनारमा जम्मा गर्दै आएका छौं ।’ तालबाट वियरका बोतल, क्यान वियर, चाउचाउ, विस्कुटक प्याकेटका खोलहरू बढी भेटिएको उनले बताए ।
ताल किनारमा रहेको बस्तीले समेत बनाएको डम्पिङ साईटबाट पनि ताल प्रदुषण हुदैं आएको छ । थापाका अनुसार ताल किनारमा बनाईएको डम्पिङमा फालिएको फोहोर पानीले बगाएर ल्याउँदा तालमै तैरिने गरेको छ । ‘दैनिक तीनदेखि पाँच घण्टासम्म फोहोर संकलन अभियान गरिरहेका छौं’, उनले भने, ‘विहान ८ बजेदेखि शुरु गर्छौ । अहिले १ बजेसम्म फोहोर संकलनमा जुट्छौं ।’
फोहोर व्यवस्थापनको लागि पोखरा महानगरपालिकाले सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ६ बैदाम र पोखरा–१८ सराङकोटसँग समेत समन्वयमा फोहोर संकलन कार्य गरिएको उनले बताए । ‘हामीले अहिले पोखरा–१८ खपौदी क्षेत्रमा संकलन गरिरहेका छौं’ अभियानका अर्का सदस्य एलन विष्टले भने, ‘स्थानीले पनि सहयोग गरेका छन् । विशेष गरी सरसफाईमा संलग्नलाई खानाको प्रबन्ध मिलाएका छन् ।’
अभियानको १६ दिनमा आईपुग्दा पोखरा महानगरपालिकाको फोहोर फाल्ने ट्रक(सवारी) पूर्णरुपमा भरिएको थियो । दैनिक दुई झोला प्लाष्टिक उठाउने गरिएको छ । फोहोर संकलन गरिने प्लाष्टिक समेत वडाहरूले सहयोग गरेका छन् । स्थानीय खपौदी क्षेत्रका होटल व्यवसायीले खानाको प्रबन्ध मिलाएका छन् । स्वयंसेवक पर्यटकले पनि कहिलेकाही फोहोर संकलनमा सहयोगी भूमिका खेल्दै आएका छन् । १५ औं दिनसम्म आउँदा आफैंले खर्च व्यहोर्दै आएको उनको भनाई थियो ।
१६ औं दिनमा आएर क्लोप्स, पानीमा लगाउने वाटरप्रुफ गमबुट लगायतका सामान सहयोग गरेका छन् । खपौदी क्षेत्रबाट शुरु भएको फोहोर संकलन पोखरा–६ बैदाममा आएर टुंगिने छ । त्यसको लागि डेढ महिनाको समय तालिका छ । ‘४५ दिनमा फोहोर संकलन गर्ने लक्ष्य हो । सकिएन भने समय लम्बिन पनि सक्छ ’, अभियानकर्ता थापाले भने, ‘अब वर्षा लागिसक्यो । मौसम हेरेर नै फोहोर संकलन गर्नुपर्छ ।’ संकलन गरिएको फोहोरलाई स्थानीय जलारी समुदायले डुंगा मार्फत ताल किनारमा व्यवस्थापन गर्न सहयोग गरेका छन् । दैनिक ५ वटा डुंगाले फोहोर किनार व्यवस्थापन गर्दै आएका छन् । ‘फाँट(सिमसार) क्षेत्रको सरसफाई सकियो ।’ उनले भने ।
पोखरा महानगरपालिकाले पनि यसै आर्थिक वर्षभित्र सक्ने गरी विभिन्न खोलामा सिल्टेसन ड्याम बनाइएको छ । हर्पन, लौरुक र अधेंरी खोलामा सिल्टेसन तालमा बाढी पस्ने सम्भावित जोखिम न्युनिकरण हुने विश्वास छ । सिल्टेसन पोखरी नहुदाँ वर्षेनी ती खोलाबाट एक लाख घनमिटर सिल्ट तालमा जम्मा हुने महानगरपालिकाको तथ्यांक छ । सिल्टले खोलाको दायाँ वायाँ ३ मिटरको दरले पुरिदैं गएको अनुमान महानगरको छ ।
प्रकाशित: १ असार २०७७ ०८:१८ सोमबार