समाज

ताप्लेजुङका अग्निपीडितलाई सहयोग

ताप्लेजुङ सरोकार केन्द्रमार्फत प्राप्त रकम अग्निपीडितसम्म पुग्ने गरी जिम्मा दिँदै पर्यटनमन्त्री योगेशकुमार भट्टराई । तस्बिर सौजन्य : राजेन्द्र श्रेष्ठ

ताप्लेजुङको फुङ्लिङस्थित ट्याक्सी स्टेनछेउमा भएको आगलागीबाट पीडित भएका परिवारलाई  अमेरिकामा संकलित रकम उपलब्ध गराइने भएको छ ।

अमेरिकाको न्युर्योक सिटीमा बस्दै आएका ताप्लेजुङ फुङलिङ–७ का स्थानीय पुष्कर बरालको संयोजनमा संकलित १ लाख २५ हजार रुपैयाँ ताप्लेजुङ सरोकार केन्द्रमार्फत  प्रतिनिधिसभा सदस्य तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ ।  

सरोकार केन्द्रका सदस्य विद्या पौडेलले अमेरिकाबाट प्राप्त रकम सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईलाई हस्तान्तरण गरेका थिए । सो रकम मन्त्री भट्टराईले सोमबारै अग्निपीडितसम्म पुर्‍याउने गरी ताप्लेजुङ सरोकार केन्द्रका कोषाध्यक्ष मिङ्माडण्डु लामालाई हस्तान्तरण गरेका छन् । सो रकम यसै साता पीडितसमक्ष पुर्‍याउने लामाले बताए ।  

ताप्लेजुङ सरोकार केन्द्र पेसा व्यवसायको सिलसिलामा उपत्यका गई बसोबास गर्ने ताप्लेजुङका बासिन्दाले बनाएको संस्था हो । गत १९ वैशाखमा भएको आगलागीबाट सात घर जलेर नष्ट भएका थिए भने साढे ७ करोड बढीको क्षति भएको थियो ।  

प्रकाशित: १ असार २०७७ ०८:१८ सोमबार

अग्निपीडित योगेशकुमार भट्टराई