चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पुर्याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ। नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा ८६ लाख ७० हजार रुपैयाँको लागतमा डिप बोरिङ निर्माण गरेको हो।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सतुङ्गल क्षेत्रका जनतालाई खानेपानी पुर्याउने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको जानकारी दिए। डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउँछौँ, उनले भने। यसअघि उक्त क्षेत्रमा खानेपानीको अभाव हुँदै आएको थियो।
डिप बोरिङ निर्माणका लागि नगरपालिकाले ५० लाख रुपैयाँ, वडा नं १० ले ६ लाख ७० हजार रुपैयाँ तथा वडा नं ११ ले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। यस्तै यही नगरपालिकाले जेठ २६ गते गएको बाढीपहिरोको अध्ययन गरी क्षति सङ्कलन गरिरहेको छ। सो दिनको वर्षाले त्रिवेणीधाम, बलम्बु, नैकाप, सतुङ्गल, तीनथानालगायतका क्षेत्रमा क्षति पुर्याएको थियो।
प्रकाशित: १ असार २०७७ ०३:४७ सोमबार