समाज

स्थानीयले बनाए कांसाहोप ताल

खोटाङको कांसाहोप तालमा पुगेका युवायुवती । तस्बिर : नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका स्थानीयले ताल निर्माण गरेका छन् । खार्मीका २२ घर स्थानीयले भंगेटारमा कांसाहोप नामक ताल निर्माण गरेका हुन् । कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि कृत्रिम ताल निर्माण गरिएको उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताए ।  

जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाइमा उपयोग गर्न मिल्ने गरी स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारमा एल आकारको ताल निर्माण गरेका हुन् । नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई लकडाउनकै बेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो । कांसाहोप ताल बनेपछि रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेको सचिव तामाङले बताए ।  

तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ । तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाइै ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन् । ‘त्यहाँ सानो खाल्डो थियो । मेसिन लगाएर खाल्डोलाई फराकिलो बनाइएको हो । ताल बनाउन हामीले चन्दा उठायौँ, श्रमदान गरेका छौँ,’ तामाङले भने, ‘यस ठाउँको पर्यटन प्रवद्र्धनकै लागि हामीले ताल बनाएका हौँ । जमिनमा रिचार्जको काम गर्ने तालको पानी तल्लो क्षेत्रमा सिँचाइ गर्नसमेत उपयोग गर्न सकिने छ ।’ टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदु खोलाको पानी पनि ल्याएर हालिएको छ ।  

कांसाहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ । सो स्थानबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिने तामाङले बताए । बाँझोबारीबाट सिधै कांसाहोप ताल पुग्ने छोटो दुरीको सडक निर्माण गर्न सके बाँझोबारी र कांसाहोपको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताइएको छ । बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने तामाङले बताए । ताल निर्माणका क्रममा संकलन गरिएको रकममध्ये दुई लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सहचालक तथा श्रमदानमा सहभागी स्थानीयको खाना, खाजामा खर्च गरिएको उपभोक्ता समितिले जनाएको छ । 

प्रकाशित: १ असार २०७७ ०१:४५ सोमबार

ताल निर्माण कांसाहोप ताल