समाज

म्याग्दीमा युवाले गरे प्रदर्शन

म्याग्दीमा गरिएको विरोध प्रर्दशन । तस्बिर : नागरिक

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार युवाहरूको समूहले विरोध प्रदर्शन गरेका छन् । बेनी नगरपालिका–७, वीरेन्द्र चोकमा युवाहरूले विभिन्न नारा लेखेको प्लाकार्डसहित विरोध जनाएका हुन् । किसानलाई अनुदानमा आएको रकम फ्रिज गर्ने, चुनावमा भोट माग्न प्रयोग गरिएको घोषणापत्र, कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडिटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने, राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्ने लगायतका माग राखेर सरकारलाई सचेत बनाइएको अभियानका संयोजक छवि आचार्यले बताए । ‘सरकारलाई खबरदारी हो, सरकारका सर्मथकले लगाएको आरोप प्रमाणित गर्न पनि चुनौती दिन्छौं,’ आर्चायले भने ।  

उनले म्याग्दीमा विभिन्न राजनीतिक दलले घोषणापत्रमा जनाएको प्रतिबद्धता समेत पूरा गर्न नसकेको भन्दै युवाहरुले हरेक प्रतिबद्धतालाई कार्यान्वयन गर्न दबाब दिने बताए । ‘भोट माग्दा प्रतिबद्धता जनाएर पूरा नगर्नेले अब माफी माग्नुपर्छ, महँगो खर्चमा रमाउने जनप्रतिनिधिले झुपडीमा बस्नेको पीडा बुझ्नुपर्छ,’ आचार्यले भने ।  

जिल्ला प्रशासन कार्यालय नजिक गरिएको विरोध कार्यक्रम अगाडि राष्ट्रिय गान बजाइएको थियो । सामाजिक दूरी कायम गरी युवाले रचनात्मक कार्यक्रम गर्दै सकिएपछि प्रहरीलाई समेत धन्यवाद दिएर फर्किएका थिए ।

प्रकाशित: ३२ जेष्ठ २०७७ २३:४५ आइतबार

सरकारविरुद्ध युवा सरकारविरुद्ध प्रदर्शन