समाज

पहिलो ढलान नटिकेपछि दोश्रो ढलान सुरु

दिक्तेलको अल्छेढुंगामा सडकमा गरिएको नयाँ ढलान । तस्बिर : दमन/नागरिक

आर्थिक वर्ष २०७४/७५ मा खोटाङको दिक्तेलस्थित अल्छेढुंगा–अस्पताल चोक सडकको अल्छेढुंगा खण्डमा गरिएको आरसिसि ढलान केही महिना पनि टिकेन । निर्माण व्यवसायीको कमजोरीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३ लाख बजेट बालुवामा पानी खन्याए सरह भयो । २०७४ साल माघ ७ गतेदेखि सञ्चालनमा ल्याइएको सडकको ढलान चार÷पाँच महिनामै उक्किएर रड छरपष्ट बाहिर निस्किए । ढलान उक्किएर यत्रतत्र छरिएको रड कतिपय स्थानीयले काटेर लगेको प्रत्यक्षदर्शी बताउँछन् ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मा पर्ने अल्छेढुंगामा बरको रुखमुनिको घुम्तीमा करिब २० मिटर खण्डमा गरिएको सो ढलान चिराचिरा परेर फुटेर उक्किदा ढलानको नामनिसान नै बाँकी रहेन । गुणस्तरहिन काम हुँदा पहिलोपल्ट गरिएको ढलानको चिनोबानो बाँकी नरहेको अल्छेढुंगामा दुई वर्षपछि पुनँ अर्को ढलान सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय उदयपुरको मर्मत अन्तरगत ४४ लाख ६ हजार ३६८ रुपैयाँ (भ्याटसहित) बजेटबाट अर्थ बिल्डर्स कन्ट्रक्सनले पुनँ अल्छेढुंगाको घुम्तीमा आरसिसि ढलान एबं अल्छेढुंगाबाट अस्पताल चोकसम्मका कजवे ढलान सुरु गरेको हो ।  

आगामी असार मसान्तमा सम्पन्न गर्नेगरी ढलानको काम सुरु गरिएको अर्थ बिल्डर्स कन्ट्रक्सनका सञ्चालक शशीकुमार राईले बताए । हाल सो सडक खण्डको डिलतर्फको भाग ढलान भइसकेको देखिन्छ । कुनातर्फको भाग पनि ढलानको तयारी गरिएको निर्माण व्यवसायीको भनाई छ । दिक्तेलको रत्नपार्क (किरातचोक)बाट अस्पतालचोक हुँदै अन्यत्र जान र आउनका लागि अल्छेढुंगा–अस्पतालचोक सडक प्रमुख बाटो हो । दोश्रो पल्ट सुरु गरिएको ढलानको हालत पनि २०७४ सालकैजस्तो हुने भन्दै स्थानीयले सो सडक ढलानलाई चासोका साथ हेरिरहेका छन् । यद्यपी, यसपल्टको ढलानको गुणस्तरमा तलमाथि नहुने निर्माण व्यवसायी राईले दावी गरेका छन् ।  

२०७४ सालमा २० मिटर खण्डमै ढलान गरिएको सडक केही महिनामै धुले सडकमै परिणत भएपछि उसबेला नगरपालिका र निर्माण कम्पनी संगम निर्माण सेवाको चर्को आलोचना भएको थियो । नकरात्मक टिकाटिप्पणी हुन थालेपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पुनँ आरसिसि ढलान गर्ने/नगरे कालोसूचीमा राख्ने शर्तमा कागजात गराएर छाडेको बताए पनि कागज अनुशारको ‘एक्सन’ नभएको स्थानीय बताउँछन् । उसबेला कम बजेटमा ढलान गरिएको त्यसमाथि ढलान नसुक्दै ट्याक्टर, स्काभेटर जस्ता हेभ्भी सवारी साधन हिँड्न दिइएकाले पनि ढलान नटिकेको दावी गरिएको थियो ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:५१ आइतबार

पहिलो ढलान आरसिसि पूर्वाधार विकास