समाज

रुकुम घटनामा प्रहरी निष्कर्ष : नदीमा हाम फाल्न बाध्य बनाएर ढुंगा प्रहार

रुकुमको चौजहारी घटनाको अनुसन्धान प्रहरीले सकाएको छ।  झन्डै २२ दिन लगाएर गरेको अनुसन्धानपछि उक्त प्रतिवेदनको फाइल प्रहरीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।  प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको प्रहरीले जनाएको छ।  

प्रहरी अनुसन्धानले भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर नदीमा हाम फाल्न बाध्य बनाएर हत्या गरेको निष्कर्ष निकालेको छ।  नदीमा हाम फालेपछि पनि माथिबाट ढुंगाले हानेको प्रतिवेदनमा उल्लेख छ।  घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय, रुकुमको टोलीले गरेको थियो।  जिल्ला प्रहरीलाई अनुसन्धानमा सघाउन प्रादेशिक प्रहरीको टोली पनि रुकुम पुगेको थियो।  घटना दुई जिल्लासँग सम्बन्धित रहेकाले जाजरकोट प्रहरीले आफ्नो जिल्लाको सबै अनुसन्धान विवरण १२ दिन अघि नै जिल्ला प्रहरी कार्यालय रुकुमलाई बुझाएको थियो।  

अनुसन्धानमा मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच केही समय अघि राम्रो सम्बन्ध भएपछि घट्ना हुँदाताका सम्बन्ध धमिलो भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।  पहिलेदेखि नै मन पराएकोलाई घरमै गएर भएपनि लैजान सकिन्छ भन्ने मनसायले नवराजले अन्य साथीहरु लिएर युवतीको घरतर्फ लागेको प्रहरी अनुसन्धानले देखाएको छ।  

प्रहरीका अनुसार घटनामा संलग्न ३४ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको छ।  जसमा २९ जना पक्राउ परिसकेको र अन्य ५ जना फरार रहेकोले फरार प्रतिवादी बनाइएको छ।  ‘यो घटना निकै जटिल मानिन्छ, प्रहरीले अनुसन्धान गर्दा घटनास्थल क्षेत्रका वडाध्यक्ष, युवती र उनका बुबा, आमा, दाई, छिमेकी लगायतलाई प्रतिवादी बनाइएको छ,’ उनीहरुलाई कसुर अनुसारको कारबाहीसहित अनुसन्धान प्रतिवेदन वकीलको कार्यालयमा बुझाएका छौं। ’  

घटनामा संलग्न सबै प्रतिवादीमाथि ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दाको कारबाही माग गरिएको छ।  त्यस्तै, नवराजसँगै गएका केही युवाहरुलाई घाइते बनाएकोले ज्यान मार्ने उद्योग र अन्तरजातीय विहेसँग सम्बन्धित घटना भएकाले जातीय छुवाछुत ऐनअनुसारको कारबाही माग दाबी गरिएको नेपाल प्रहरीका प्रवक्ता निरज शाहीलेले बताए।  उनका अनुसार घटनाका प्रतिवादीहरुमा डम्बरबहादुर मल्ल, तुलबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, सविन पुन, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, एक युवतीको नाम परिवर्तीत, इन्द्रबहादुर मल्ल, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, भीमबहादुर पुनलगायत रहेका छन्।  प्रहरीका अनुसार फरारा प्रतिवादीको खोजिकार्य भइरहेको छ।  जसमा नविनकुमार घर्ती, विराज पुन मगर, धनराज राणालगायत छन्।  अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार नवराज र उनका साथिहरुलाई नदीमा हाम फालेपछि पनि ढुंगा हानेको भेटिएको छ।  

यसअघि घटनालाई जोडेर प्रहरीमाथि पनि आरोप लगाइएको छ।  चौरजहारी घटनास्थलबाट चौरजहारी प्रहरी कार्यालय पुग्न करिब १५ मिनेट लाग्ने भएतापनि प्रहरी समयमै नपुगेको आरोप प्रहरीमाथि छ।  प्रहरी स्रोतका अनुसार पनि प्रहरीले करिब ३० मिनेटपछि मात्रै घटना भएको खबर थाहा पाएको थियो।  जानकारी पाएलगत्तै प्रहरी निरीक्षक सन्तोष लामिछानेसहित पाँचजनाको टोली घटनास्थल पुगेको थियो।  जाजरकोटतर्फबाट पनि दुई जना प्रहरी घट्नास्थलमा पुगेका थिए।  तर, त्यसदिन घटना लामो समयसम्म चलिरहँदा प्रहरी कहाँ गयो ? भन्ने प्रश्न अझै अनुत्तरित छ।  प्रहरीले यसबारे बोलेको छैन।  संघीय प्रहरी इकाई कर्णाली प्रदेशले पनि प्रहरी घटनास्थलमा पुगेर प्रभावकारी भूमिका निभाउन नसकेको विषय स्वीकार गर्दै आइरहेको छ।  त्यस्तो घट्नापछि पनि संलग्नलाई पक्राउ गर्दा प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै तत्काल पक्राउ गरेको थियो।  घटना बाहिरिएपछि प्रहरीले त्यसतर्फ थप गम्भीर हुँदै अनुसन्धान गर्दै आइरहेको थियो।  

 

 

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:२९ आइतबार

रुकुम हत्याकाण्ड