समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय ६७ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या नौ सय ६७ पुगेको छ। आइतबार ५२ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या नौ सय ६७ जनामा पुगेको हो।  

प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा दैलेखका ३७ र सुर्खेतका १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। दैलेखको नौमुले गाउँपालिकाका ३५ र नारायण नगरपालिकाका दुईजनामा कोरोना पृष्टि भएको हो। त्यस्तै सुर्खेतको वीरेन्द्रनगरका एक, गुर्भाकोटका आठ, लेकवेशीका एक र पञ्चपुरीका पाँचजनामा कोरोना पृष्टि भएको छ। ५२ जना कोरोना संक्रमितमध्ये एकजना महिला भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।  

हालसम्म हुम्लामा एक, मुगुमा दुई, डोल्पामा एक, जुम्लामा २४, कालीकोटमा २८, जाजरकोटमा आठ, दैलेखमा पाँच सय ३८, सुर्खेतमा दुई सय १२ र सल्यानमा एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ। दैलेख अस्पतालबाट दुई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एकजना निको भइ डिस्चार्ज भएको महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए। उनका अनुसार कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ९४ पुगेको छ। हालसम्म कर्णालीमा सुर्खेत, दैलेख र डोल्पाका एक÷एक गरी तीनजनाको मृत्यु भएको छ। कर्णालीमा पहिलो संक्रमित जेठ ५ गते भेटिएका थिए।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:३७ आइतबार

कोरोना संक्रमित