समाज

बल्ल दिक्तेल बजार ढलानको काम सुरु

दिक्तेल बजारको संगमपार्क र पुरानो बैंकचोकमा ढलानको काम गरिँदै । तस्बिर : दमन/नागरिक

खोटाङको साविकको सदरमुकाम दिक्तेल बजार ढलानको काम सुरु गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक लगानीमा दिक्तेलबजारमा आरसिसि ढलानको काम सुरु गरिएको हो ।

पहिलो चरणमा दिक्तेलबजारका तीन खण्डमा ढलानको काम सुरु गरिएको छ । असार मसान्तभित्रै सम्पन्न गर्नेगरी दिक्तेलको किरातचोक (रत्नपार्क)स्थित जिरोप्वइन्टदेखि पुरानो बेसक्याम्प, त्रिबेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय र पुरानो बैंकचोकदेखि झिसेपु मन्दीर जाने खण्ड ढलानको काम सुरु गरिएको हो । पूर्वी पहाडी जिल्लाका सदरमुकामभन्दा ढिलागरी दिक्तेलबजार ढलान सुरु गरिएको हो ।  

शहरी विकासको ३ करोड ३९ लाख १० हजार बजेटमा दिव्यज्योती आरडि रोजन जेभीले किरातचोक (रत्नपार्क)स्थित जिरोप्वइन्टदेखि पुरानो बेसक्याम्प खण्ड ढलान सुरु गरेको हो । सो खण्डमा शुक्रबारदेखि ढलान राख्न सुरु गरिएको छ । हाल रातका समयमा समेत ढलानको काम भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपानारायण रिजालले बताए ।  

यस्तै, नगरपालिकाको १ करोड ३ लाख बजेटमा त्रिबेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्मको खण्ड खोटाङ हलेसी गोल्डेन फ्यूचर जेभीले ढलानको जिम्मा लिएको छ । सो खण्डमा ढलानका लागि बेस राख्ने काम भइरहेको खोटाङ हलेसी गोल्डेन फ्यूचर जेभीका प्रतिनिधि खगेन्द्र राईले बताए । प्रदेश सरकार र शहरी विकासकै ५८ लाखमा मुकुण्ड निर्माण सेवाले पुरानो बैंकचोकदेखि झिसेपु मन्दीर जाने खण्ड ढलान गरिरहेको छ । सो खण्डको ८० प्रतिशत काम पुरा भएको निर्माण सम्वद्ध जितेन खम्बूले बताए ।  

विनियोजित बजेटले त्रिबेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय खण्डको करिब त्रिबेणीचोक–मालपोत खण्ड मात्र ढलान गर्न पुग्ने भएकाले मालपोतदेखि लोकसेवा आयोगको कार्यालयसम्मको खण्ड ढलानका लागि नगरपालिकाले ७५ लाख व्यवस्था गरेको जनाएको छ । यस्तै, दिक्तेलको भवनगैराबाट कृषि ज्ञानकेन्द्र झर्ने सडक ढलानका लागि नगरपालिकाबाट ५७ लाख बजेट व्यवस्था गरिएको मेयर रिजालले बताए । मालपोतदेखि लोकसेवा आयोगको कार्यालयसम्मको ढलानको काम शुभचन्द्र राई र भवनगैराबाट कृषि ज्ञान केन्द्र झर्ने सडक ढलानको काम सुवास आचार्य नेतृत्वको उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।  

दिक्तेलबजारको बाँकी खण्ड पुरानो बेस क्याम्पदेखि त्रिबेणीचोक, त्रिबेणीचोकदेखि नेपाल टेलीकमसम्मको खण्ड पनि क्रमशः ढलानको काम गरिने मेयर रिजालले बताए । ‘बाँकी रहेका बीचको खण्डमा पनि क्रमशः ढलानको काम हुन्छ,’ रिजालले भने, ‘नगरपालिकाको पहलमा शहरी विकासबाट बजेट व्यवस्था गरिएको छ ।’ दिक्तेल–खानीडाँडा सडक खण्डमा पर्ने टेलीकमदेखि हाटडाँडासम्मको खण्ड भने दिक्तेल–खानीडाँडा पिचकाक्रममा स्वतः कालो पत्रे हुने छ । दिक्तेलबजार ढलान सुरु भएपछि हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने समस्या हल हुने देखिएको छ । यद्यपी कामको गुणस्तरका विषयमा भने स्थानीयले प्रश्न उठाइरहेका छन् ।  

खोटाङबजारबाट २०२० सालमा दिक्तेलमा सारिएको सदरमुकाम पिच/ढलान नभएका कारण वर्षा याममा हिलाम्मे हुनेगरेको छ । वर्षा लागे यता बजारका सडकमा हिँड्नै मुस्किल पर्छ । सडक फराकिलो बनाउनका लागि बजारबासीले जग्गा छाड्ने अवस्था नभएपछि आर्थिक वर्ष २०७३/०७४ मा स्थानीय बिकास शुल्क कोषबाट दिक्तेलबजार पिचका लागि आएको बजेट फ्रिज भएको थियो । सडक साँघुरो भएका कारण आगलागीका समयमा दिक्तेलबजारमा दमकल समेत सहज तरिकाले हिँडाउन नसक्दा बढि क्षति हुने गरेको छ । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १६:२७ शनिबार

दिक्तेल बजार ढलानको काम