समाज

ठेक्का नलिएपछि आफैले उत्खनन् गरेर बिक्री गर्ने

सेहरा, सर्दु र पटनाली

नदीजन्य पदार्थको उत्खनन् गर्न धरानको खोलाहरू ठेक्का लगाउदा हरेक वर्ष झमेला हुने गरेको छ । सेटिङमा न्युन रकममा ठेक्का लगाएको तथा ठेक्का लगाएको भन्दा बढी उत्खनन् गर्दा पनि उपमहानगरपालिका चुप बसेको जस्ता आरोप लाग्दै आएको हो ।

यसपाली भने खोला उत्खननमा धरान उपमहानगरपालिकाले नयाँ अभ्यास थाल्ने भएको छ । लकडाउनको कारणले खोलाहरू ठेक्का लाग्न नसकेको र आर्थिक वर्ष पनि सकिनै लागेपछि उपमहानगरपालिका आफैले खोला उत्खनन् गर्ने निर्णय गरेको हो । धरानको सेहरा, सर्दु र पटनाली खोला ठेक्का लाग्न नसकेपछि उपमहानगर आफैले उत्खनन् गर्ने तयारी गरेको हो । यसको लागि ७ सदस्यीय अनुगमन समिति पनि कार्यपालिका बैठकले बनाएको छ ।  

हिजो सम्पन्न बैठकले खोलाको व्यवस्थापन, सहजीकरण र अनुगमनको लागि वडा नं १५ को अध्यक्ष नरेश इवारम संयोजक रहने गरि ७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा वडा ५, ६, १७ का अध्यक्षहरू पनि छन् भने वातावरण महाशाखा, राजश्व महाशाखा र नगर प्रहरी इकाई पनि सदस्य छन् ।  

राजश्व तथा सुचना अधिकृत खगेन्द्र खतिवडाका अनुसार उपमहानगर आफैले खोला उत्खनन् गर्ने भएकोले व्यवस्थापन, सहजीकरण र अनुगमन गर्न यो समिति गठन भएको हो । ‘ठेक्का लागेन, र अब धेरै दिन छैन । त्यसैले सिधै नगरपालिकाले उत्खनन गर्ने र बिक्री गर्ने निर्णय भएको हो,’अधिकृत खतिवडाले भने,‘बिक्री नभएको नदीजन्य पदार्थ स्टक राखिनेछ ।’ विकास निर्माण कार्यमा गिट्टीढुंगालगायत पदार्थ उपमहानगरपालिका आफैलाई आवश्यक पर्छ । आर्थिक वर्ष सकिन लाग्दा अहिले सडक, ड्रेनलगायत अन्य भौतिक संरचना निर्माणको कामहरू धमाधम भइरहेको छ ।

यसअघि, सेहरा, सर्दु र पटनाली खोलाको ठेक्का माघमा खुलेको थियो । ठेक्का पाएको कम्पनीले सम्झौता गर्नुअगावै लकडाउन भएपनि करिब ३ करोडको ठेक्का रद्द गरिएको थियो । त्यसअघि नै सेउती र अधेरी खोला भने ठेक्का लागेर उत्खनन् भइरहेको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७७ १२:२२ शनिबार

उत्खनन ठेक्का लगाउदा