वर्षौंअघि झलमल्ल विजुली बलेको कटारी बजारको नाकैमाथिको पाट्ने र धर्मभकारी गाउँ हिजोसम्म अन्धकार थिए । कटारी नगरपालिका ७ मा पर्ने यी गाउँमा विद्युत विस्तारका लागि पटकपटक प्रइास गरिए पनि कसैबाट सुनुवाई नभएपछि उज्यालोमा बस्ने गाउँले सपना त्यत्तिकै थाति थियो ।
तर, अब बस्तीबासीलाई अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको छ । ७ नं. वडाका घना बस्ती मानिएको पाट्ने र धर्मभकारी क्षेत्रमा भर्खरै विद्युत विस्तार भएपछि गाउँले उज्यालोमा बस्न पाएकोमा खुसी छन् । नगरपालिकाको बजेट र नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मरलगायत सामग्री जुटेपछि पाट्ने र धर्मभकारीक्षेत्र उज्यालिएको वडाध्यक्ष धनकुमार दनुवारले बताए । उनका अनुसार चालु आर्थिकवर्ष वडाबाट बिनियोजित ३२ लाख र प्राधिकरणको ४ थान ट्रान्सफर्मर सहयोगले गाउँलेहरु विद्युत सेवा पाउन सफल भएका हुन् ।
नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार एक कार्यक्रमबा बीच ट्रान्सफर्मरमा जडान भएको बत्ती बालेर योजनाको उद्घाटन गरे । विद्युत सेवा पुगेपछि वर्षाैंदेखि उज्यालोमा बस्ने त्यसक्षेत्रका ६९ घरपरिवारको सपना साकार भएको मेयर श्रेष्ठले बताए । उनले सोही कार्यक्रममा ६९ घर परिवार सबैलाई मिटरबक्ससमेत वितरण गरेका छन् ।
झण्डै ३ महिना लामो जारी लकडाउनका बीचमा पनि रातदिन खटेर विद्युत विस्तार योजना पूरा गरेर स्थानीयले गाउँमा विद्युत बाल्ने उत्कठ चाहना प्रकट गरेका थिए । कोरोनाको चिन्ता र लकडाउनको कडाईले काममा कुनै असर नगरेको उदाहरण पाट्ने विद्युत विस्तार योजनाको काम सम्पन्न भएर देखाएकोमा मेयर श्रेष्ठले गाउँलेलाई धन्यबाद दिँदै खुसी व्यक्त गरे ।
नगरपालिकाका अनुसार प्राधिकरणले चालु वर्ष नगरपालिकाका १, ६ र ७ नम्बर वडाका लागि १ करोड २० लाख रुपैयाँ मूल्य बराबरको ट्रान्सफर्मर सहयोग गरेको छ । प्राधिकरणको त्यही सहयोगले ७ नं. वडाबासीले विद्युत उपभोग गर्न पाएको वडाध्यक्ष दनुवारले बताएका छन् ।
प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:१३ शनिबार