समाज

मृतक दुई जनामा कोरोना संक्रमणको पुष्टि

वीरगन्जमा बेग्ला बेग्लै २ जना मृतकहरुमा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका एक जना ५ वर्षीय बालकमा र वीरगन्जको घन्टाघर नजिकै बुधबार मृत फेला परेका युवा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।  

बाराको निजगढ नगरपालिका–६ योजनाटोल घर भएका बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो। उपचारको क्रममा शुक्रबार अस्पतालमा भर्ना रहेको बेला मृत्यु भएका ति ५ वर्षीय बालकको आरडीटी परिक्षण र पिसिआर परिक्षण दुबैमा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब संकलन गरिएको ती बालकको पीसीआर जाँचको नतिजा ‘पोजेटिभ’ आएको छ।  

बीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा.अबुल हैस अन्सारीका अनुसार बालकमा निमोनिया र ज्वरो देखिएको थियो। आकस्मिक कक्षमैं आरडीटी परिक्षण गरिदा नतिजा पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारिएको थियो। तत्कालै बोलाइएको नारायणी अस्पतालको टोलीले समेत गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब लिइएको थियो। जसको नतिजा पनि पोजेटिभ नै आएको छ। बालकको स्वास्थ्य अवस्था बिग्रीएपछि २ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार भैरहँदा करिब साढे ४ बजेतिर उनको मृत्यु भएको स्पतालका सञ्चालक डा. अन्सारीले बताए।  

सुरुमा निजगढको सामुदायिक अस्पतालमा उपचार भई त्यहाँबाट ती बालकलाई वीरगन्ज रिफर हुँदा बालकलाई उनका आमाबुबाले वीरगन्ज हेल्थकेयर अस्पताल लिएर आएका थिए। बालकको परिवारको ‘ट्रभल हिस्ट्री’ ‘वा ‘कन्टेक्ट हिस्ट्री’ देखिएको छैन। ‘त्यो परिवारको बाहिरबाट आएको यात्रा गरेको वा संक्रमितको सम्पर्कमा गएको रेकर्ड देखिदैछ, उनी बस्ने निजगढमा कोरोना संक्रमणको घट्ना पनि छैन,’ डा.सिंहले भने, ‘बारा जिल्लाको बिषय भएको हुनाले त्यहाँ सबै कुरा जानकारी गराइएको छ। अब मृतक बालको ‘कन्टेक्ट हिस्ट्री’ मा भेटिनेहरुको परीक्षण जरुरी हुन्छ।’

बालकको परिवारका सदस्यहरु, सुरुमा उपचार भएको सामुदायिक अस्पताल निजगढ र वीरगन्ज हेल्थ केयर हस्पिटलका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब परीक्षण अनिवार्य गर्नुपर्ने भएको उनले बताए। बालकको शवलाई नेपाली सेनाको एक्सपर्ट टोलीलाई जिम्मा लगाइएको डा. सिंहले बताए।  

बेवारिसे शवमा संक्रमण

त्यसतै बुधबार वीरगन्जको घन्टाघर नजिक भेटिएको बेवारिसे मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। फेला परेका अन्दाजी २५ वर्षीय व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा. सिंहले बताए। उनका अनुसार वीरगन्जकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उक्त मृतकमा कोरोना पोजेटिभ पाइएको छ। मृत फेला परेका व्यक्तिसहित ६ जनामा शुक्रवार आएको नतिजामा संक्रमण पुष्टि भएको हो। यसमा २ जना बालक र २ महिला पनि छन्। मृतक पुरुष बाहेक अरु सबै क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु हुन। मृतकको शव नारायणी अस्पतालको शव गृहमा राखिएको थियो। शनिवार उक्त शवलाई पनि ब्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई जिम्मा लगाइएको डा. सिंहले बताए।

 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:०२ शनिबार

कोभिड १९