समाज

भेन्टिलेटरमा उपचारत युवाले जिते कोरोना

भेन्टिलेटरमा उपचाररत कपिलबस्तुका एक २२ वर्षीय युवा कोरोनामुक्त भएर घर फर्किएका छन्।  नेपालमै पहिलो पटक भेन्टिलेटर (सघन उपचार कक्ष) मा  उपचार गरेर कोरोना जित्न सफल भएको अस्पतालले दाबी गरेको छ।  उनलाई कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा जेठ १४ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।  

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका कोरोना संक्रमित युवा बालगोपाल कहारलाई निको भएपछि बिदाई गरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।  ‘निकै गम्भीर अवस्थामा हामीले भर्ना गरेका थियौं, समयमै भेन्टिलेटरमा राखेर उपचार गर्न पाएकाले निको भयो,’ डा. थापाले भने।  स्थानीय क्वारेन्टिनमा सिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।  

दोस्रो परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले शुक्रबार घर पठाएको डा. थापाले बताए।  कोरोना संक्रमण देखिएका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरेर निको हुुनुलाई स्वास्थ्यकर्मीले सफलता मानेका छन्।  लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. थापाले अन्य रोगीको जस्तै भए पनि कोरोना संक्रमित बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सावधानी अपनाउनुपर्ने बताए।  

 

 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०२:५५ शनिबार

कोरोनाभाइरस