समाज

क्वारेन्टिनमा शून्य सुरक्षा, सहजै भाग्छन् क्वारेन्टिन बसेकाहरू

बङ्गगलाचुली गाउँपालिकामा रहेको क्वारेन्टाइन । तस्बिर : नागरिक

तीन दिन अघि तुलसीपुर उपमहानगरपालिका ८ स्थित क्वारेन्टिनबाट एक महिला भागिन् । स्थायी घर सल्यान भई हाल तुलसीपुरमा डेरा गरि बस्दै आएकी ति महिला र उनका श्रीमान केही दिन अघि भारतबाट आएका थिए । उनीहरू दुबैजना क्वारेन्टिनमा बस्दै आएका थिए । मध्यरातमा क्वारेन्टिनबाट भागेकी महिलाका श्रीमानले समेत उनी भागेको थाहा पाउन सकेनन्।

श्रीमानले श्रीमती भागेको जानकारी गराएपछि प्रहरीले उनको खोजी ब्यापक बनायो । तर अहिले सम्म उनको अत्तोपत्तो छैन । ‘हामीहरूले खोजी कार्य जारी राखेका छौँ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबवहादुर सिंहले भने ‘तर अहिले सम्म उहाँलाई भेट्टाउन सकिएको छैन ।’ प्रहरीले उनी जान सक्ने सम्भावित सबै स्थानमा खोजी गरिसकेको छ । तुलसीपुरका केही स्थानीयले भने अटो चढेर गएको देखेको प्रहरीलाई बताएका छन् ।  

‘हामीहरूले उहाँ जान सक्ने सम्भावित उहाँका आफन्तीहरू सबैलाई बुझेका छौँ, तर कहिँकतै उहाँ गएको भन्ने जानकारी आएको छैन,’ डिएसपी सिंहले भने ‘अटो चढेर गएको भन्ने सम्मको जानकारी पाएका छौँ, त्यो भन्दा बढि केही थाहा हुन सकेको छैन ।’ ति महिला यसअघि पनि क्वारेन्टिनबाट भागेकी थिईन् । तर त्यो बेला प्रहरीले तत्कालै तुलसीपुर स्थित एक जंगलबाट उनलाई नियन्त्रणमा लिएको थियो ।

त्यो बेला ति महिलाले आफूलाई क्वारेन्टिनमा बस्न निकै असहज भएको भन्दै क्वारेन्टिन फर्कन अस्वीकार गरेकी थिईन् । ‘उहाँको कोरोना जाँचको प्रकृया चल्दै थियो, उहाँले म जान्न त्यो ठाउँमा बस्न सक्दैन भन्नु भएको थियो,’ डिएसपी सिंहले भने ‘तर हामीहरूले नियन्त्रणमा लिएर क्वारेन्टिन पुर्याएका थियौं ।’

दुई दिन अघि घोराही उपमहानगरपालिका ५ स्थित क्वारेन्टिनबाट दुई युवा निस्कीए । राती क्वारेन्टिनबाट निस्कीएका उनीहरू गाउँमा रहेको झोलुंगे पुलमा बसेर मदिरा सेवन गर्दै थिए । त्यहि बेला गाउँका एक युवकलाई पुलमा भेटेका उनीहरूले कुटपीट गरे । कुटपिट पछि गाउँमा होहल्ला चल्यो, उनीहरू त्यहाँबाट भागेर पुनः क्वारेन्टिनमै प्रवेश गरे । ‘क्वारेन्टिनबाट निस्केर मदिरा सेवन गरि एक युवालाई कुटपिट गरेछन्,’ एक स्थानीयले भने, ‘अनि गाउँमा होहल्ला भएपछि उनीहरू भागेर पुनः क्वारेन्टिनमै पुगेका रहेछन् ।’

घोराही उपमहानगरपालिका–१८ का एक युवा पनि केही दिन अघि क्वारेन्टिनबाट भागे । उनलाई लिन गाउँकै एकजना साथी आएका थिए । झ्यालबाट हामफालेर निस्किएका ति युवा र उनका साथी मिलेर गाउँमा मदिरा सेवन गरे । मदिराले मातेका उनीहरूले गाउँमा होहल्ला गर्दै स्थानीयलाई गाली गर्न थाले । गाउँलेहरू जम्मा भए, अनि घेरा हालेर उनीहरूलाई नियन्त्रणमा लिए । क्वारेन्टिनबाट भागेका र उनलाई लिन पुगेका उनका साथीलाई अहिले क्वारेन्टिनमा राखिएको छ ।

‘झ्यालबाट हामफालेर भागेका रहेछन्, त्यहाँबाट निस्केर मदिरा सेवन गरि गाउँलेहरूलाई तथानाम गाली गर्न थालेपछि गाउँलेहरूले घेरा हालेर नियन्त्रणमा लिए,’ घोराही–१८ का वडाध्यक्ष भरत अर्यालले भने, ‘अनि दुबैलाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा हाल्यौँ ।’

भारत लगाएत बाह्य मुलुकबाट आउने नागरिकहरूलाई राख्नका लागि जिल्लामा स्थानीय तहहरूले स्थानीय विद्यालयहरूलाई क्वारेन्टिन बनाएका छन् । तर यी क्वारेन्टिनको फितलो सुरक्षा व्यवस्थापनका कारण क्वारेन्टिनमा बसेकाहरू सहजै भाग्ने गरेका छन् । उनीहरू भागेर गाउँ समाजमा घुलमिल हुने भएका कारण उनीहरूमा कोरोना संक्रमण भए समुदायमै यसको संक्रमण फैलिने खतरा बढेको छ । 

‘क्वारेन्टिनमा बसेकाहरू आफ्नो चेकजाँच नहुँदै क्वारेन्टिनबाट भाग्नु समुदायमा कोरोनाको जोखिम बढाउनु हो,’ घोराही ५ का रामवहादुर नेपालीले भने ‘उनीहरू त्यहाँबाट निस्केर गाउँमा आउँछन्, उनीहरूमा कोरोना रहेछ भने त्यसको शिकार त हामी सबै हुने भयौं नि ।’ स्थानीय तहले स्थानीय विद्यालय वा सार्वजनिक भवनहरूलाई क्वारेन्टिन बनाएका छन्। यी क्वारेन्टिनमा एकजना हेरचाह गर्ने ‘हेरालु’ तोकिएका हुन्छन् । 

यो बाहेक उनीहरूको निगरानी राख्ने सुरक्षा व्यवस्था केही छैन । जसले गर्दा उनीहरू मन लागेको खण्डमा लुकिछीपी सहजै बाहिर निस्कन सक्छन्। दिउँसोका समयमा प्रहरीले निगरानी राख्ने गरेको भएपनि रातको समयमा भने प्रहरीको निगरानी रहन्न । ‘जसलाई क्वारेन्टिनबाट निस्कनै पाए हुन्थ्यो भन्ने सोच रहन्छ, उनीहरू सहजै भाग्न सक्छन्,’ तुलसीपुर उपमहानगरपालिका–६ स्थित क्वारेन्टिनमा रहेका सुन्दर नेपाल (नाम परिर्तन) ले भने, ‘किनकी क्वारेन्टिनमा सुरक्षा व्यवस्थापन शून्य छ ।’

यसैगरि क्वारेन्टिन भित्रको असहज व्यवस्थापनले पनि क्वारेन्टिनमा बसेकाहरू भाग्नुको अर्को कारण रहेको देखिन्छ । त्यहि असहज व्यवस्थापनमा जेनतेन घुलमिल भएपनि कोरोना परीक्षण सुस्त हुँदा उनीहरूमा नकारात्मक सोच हावी हुने र त्यहाँबाट भाग्ने मनसाय बन्ने गरेको क्वारेन्टिनमा बसेकाहरू स्वयं बताउँछन् । 

‘खानपिन देखि सुत्ने सम्मको असहज व्यवस्थापनले भने क्वारेन्टिन जेल भन्दा कम लाग्दैन,’ घोराही–७ स्थित क्वारेन्टिनमा १४ दिन विताएका सौंडियारका एक स्थानीयले भने, ‘क्वारेन्टिनमा पिल्सिएर बस्नु भन्दा त बाहिर निस्कनै बेस भन्ने सोच मनमा आउँछ ।’

प्रकाशित: ३० जेष्ठ २०७७ ११:४७ शुक्रबार

क्वारेन्टिन कोरोना संक्रमण कोरोना जाँच