समाज

उदयपुरको बेलकामा थप ३ जना संक्रमित, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

पछिल्लो दुईसातायता कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको उदयपुरमा सदरमुकाम बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ । यसै लिसिलामा शुक्रबार आएको रिपोर्ट अनुसार बेलका नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।  

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका बेलका ९ का २ तथा बेलका ३ का १ गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित यवाहरु ३६, २२ र ३२ वर्षका रहेको स्वास्थ्यले जनाएको छ । बेलका ९ का संक्रमितहरु दिल्लीबाट आएका हुन् भने ३ नं. का युवा कैलालीको गौरीफन्टा नाका भएर नगरपालिका भित्रिएको नगरपालिकाले जनाएको छ ।  

योसँगै बेलकामा संक्रमितको संख्या ५ पुगेको छ । यसअघि सातादिनअघि मात्र बेलका ३ कै एबिसी टप्पुमा २ (दम्पति) जना र चौदण्डीगढी नगर ५ शिवाईका १ पुरुष संक्रमित भेटिएका थिए । उनीहरु पनि भारतकै मेघालय (कोईला खानी) बाट फर्केको बताइएको छ । नगरप्रमुख दुर्गाकुमार थापाले ९ नं. का संक्रमितहरु भारतको दिल्लीबाट नेपाल भारत सीमास्थल सिराहाको लौकही ठाडी भएर नगरपालिका भित्रिएको बताए । १० जनाको टोली ठाडी आईपुगेको जानकारी पाएपछि उनीहरुलाई नगरपालिकाको सवारी साधनसहितको उद्धार टोलीले गत २२ गते ठाडी पुगेर उद्धार गरी क्वारेन्टाईनमा राखेको हो । त्यस्तै गौरीफन्टा नाका भएर आएका ३ नं. वडाका युवासहित ८ जनालाई जेठ १९ गते उद्धार टोलीले नगरपालिका भित्र्याएको मेयर थापाले बताए ।  

पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या ४३ पुगेको छ । जसमध्ये ८ महिला र बाँकी पुरुष छन् । संक्रमितमध्ये ३२ जना निको भएर घर फर्किसकेका छन् भने ११ जना कोरोना अस्पतालको आईसोलेसनमा उपचाररत छन् । बिहीबार मात्र त्रियुगा जनता क्यामपस मोतिगडाको क्वारेन्टिनमा रहेकामध्ये त्रियृुगा नगरपालिका १० का दिदीभाइ र कटारी नगरपालिका १ बेलसोत क्वारेन्टिनका १ जना संक्रमित पुष्टि भएका थिए भने बुधबार उदयपुगढी गाउँपालिका ५ का १ जनामा संक्रमण पाइएको थियो । नयाँ संक्रमितहरु सबैलाई शुक्रबारै कोरोना अस्पताल लाने तयारी भईरहेको छ । बुधबार साँझ संक्रमित पुष्टि भएका कटारी नगरपालिका १३ का ३६ वर्षीय पुरुष पनि भारतबाटै आएको बताइएको छ ।  

भारतबाट नेपाल भारत सीमा काकडभिट्टासम्म आएका उनीलगायतलाई नगरपालिकाले उद्धार गरी कटारी ल्याएर क्वारेन्टाईनमा राखेको थियो । बेलसोत क्वारेन्टाईनमा भारतबाट आएका ३ महिलासहित ४० जनालाई राखिएको कटारी नगर स्वास्थ्य शाखाले जनाएको छ ।  

पछिल्लो समय भातरका बिभिन्न ठाउँबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिन क्रम जारी रहेको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । जेठ ३ गते त्रियुगा ११ गाईघाटमा बस्ने १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् ।  

प्रकाशित: ३० जेष्ठ २०७७ १०:५२ शुक्रबार

कोरोना संक्रमित