समाज

कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, २२ जना डिस्चार्ज हुँदै

शुक्रबार मात्रै कर्णाली प्रदेशमा ८३ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। सुर्खेतका ४५ र दैलेखका ३८ जना कोरोना संक्रमित भेटिएका हुन्। प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेतको वीरेन्द्रनगरमा एक, भेरीगंगामा ६, चिंगाढमा एक, लेकवेशीमा ३१ र सिम्ता गाउँपालिकामा दुईजना कोरोना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

 महाशाखाका अनुसार दैलेखको भैरवीमा सात, दुल्लुमा २८ र ठाँटीकाधमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित भएका व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सातजना महिला र ७६ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै कर्णालीमा आठ सय ४६ जनामा कोरोना देखिएको छ भने सुर्खेत, दैलेख र डोल्पाका एक÷एकजना गरी तीनजनाको मृत्यु भएको छ।

महाशाखाका अनुसार शुक्रबार दैलेख अस्पतालमा कोरोनाका उपचार गराइ रहेको २२ जना डिस्चार्ज हुँदै छन्। योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या ८२ पुग्ने छ। कर्णालीका १० जिल्लामध्ये रुकुम पश्चिमबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७७ १०:३२ शुक्रबार

कोरोना सङ्क्रमण कर्णाली प्रदेश