समाज

वडा कार्यालयमा लगाइएको ताला खुल्यो

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष सन्तबिर तामाङले आफूखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले वडा कार्यालयमा लगाएको ताला बिहीबार खुलाइएको हो । 

दुबैपक्षलाई गाउँपालिकाको कार्यालयमा बोलाएर सहमती कायम गराएर वडा कार्यालयको ताला खुलाइएको गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले बताईन् । आगामी दिनमा वडाध्यक्षले योजना सञ्चालनमा एकलौटी नगर्ने, योजनाका विषयमा वडा सदस्यसँग पनि समन्वय गर्ने, सबैको सल्लाहमा वडा कार्यालयको डिजाईन तयार पार्ने लगायतका सहमतीमा वडा कार्यालयको ताला खुलाइएको हो । सहमतीपछि फर्किएका वडा सदस्य शिवबहादुर पुरी लगायतले वडाको ताला खोलेका हुन् ।  

वडा कार्यालयको भवन निर्माणका लागि चार वडा सदस्यलाई थाहै नदिइ उपभोक्ता समिति गठन गरिएको, भवन कस्तो बनाउने भन्ने ईन्जिनियरिङ स्टीमेट नबनाइएको, हालसम्म भवन बनाउने जग्गा छनौट नभएको, अघिल्लो योजनामा पदाधिकारी रहेर हालसम्म योजना सञ्चालन गरिरहेका व्यक्तीलाई समेत भवन निर्माण उपभोक्ता समितिमा पदाधिकारी राखिएको भन्दै उनीहरुले बुधबार वडा कार्यालयमा ताला लगाएका थिए । गाउँपालिकाबाट विनियोजन गरिएको २५ लाख बजेटबाट बाकाचोलमा वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।  

वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै गत पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा लगाएको ताला गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थितिमा सहमतीमा पुस १४ गते खुलाइएको थियो । 

उसबेला वडाध्यक्षले आफूखुसी गठन गरेका उपभोक्ता समितिलाई सल्लाह र सहमतीमा पुर्नगठन गर्ने, प्रत्येक महिना वडाले दुई पटक बैठक बोलाउने, हरेक ६ महिनामा सामाजिक लेखा परीक्षण गर्ने, कामको प्रगतीका बारेमा जानकारी दिने लगायतका सहमतीमा ताला खुलाइए पनि वडाध्यक्षबाट सहमती कार्यान्वयन नभएकाले पुनः ताला लगाउनु परेको असन्तुष्ट वडा सदस्यको भनाई छ । पुसमा वडा कार्यालयमा लगाइएको ताला सोही दिन साँझ प्रहरीको सहयोगमा वडाध्यक्षले खोलेपछि वडासदस्य तामाङले स्थानीय समेतको सहभागीतामा पुनः ताला लगाएका थिए ।  

बाकाचोलका वडाध्यक्ष र चारै जना वडा सदस्य कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्षले सुरुका वर्षदेखि नै एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफूखुसी गठन गर्ने गरेको, आफ्नो अनूकुल मात्र काम गरेर भूमीकाविहीन पारिएकाले ताला लगाउनु परेको वडासदस्य जयकुमारले बताउँदैआएका छन् । उनीहरुकै द्धन्द्धका कारण यसपल्ट काठमाडौंमा रहेका लकडाउन पीडितलाई राहत वितरण गर्नेक्रममा समेत समस्या सिर्जना भएको स्थानीयको गुनासो छ । 

प्रकाशित: ३० जेष्ठ २०७७ ०८:२७ शुक्रबार

वडा कार्यालय ताला खुल्यो