समाज

सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण

बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ। सुत्केरीलाई पोषणको अभाव हुन नदिन सो उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो। आव २०७५/७६ देखि नै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो।  

जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै वडालाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन्। मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशील भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताए।

स्वास्थ्य सुरक्षा प्रबन्धसहित सामाजिक दूरी कायम गरेर नगरका अतिविपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिए। लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरुपमा विपन्न तथा श्रमिक गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिइएको जनाइएको छ।  

उनीहरुलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ। त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइएको उनले जानकारी दिए।  

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पुर्‍याउन सो कार्यक्रम सञ्चालन भएको थियो। गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको छ। 

प्रकाशित: ३० जेष्ठ २०७७ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App