समाज

क्वारेन्टिनमा रहेकालाई रोग प्रतिरोधी क्षमताका औषधिजन्य जडिबुटी बाँडिदै

फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमस्थित सिँवा माविमा रहेको क्वारेन्टिनमा रहेकाहरुलाई रोग प्रतिरोधी क्षमताका आयुर्बेदिक औषधि वितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन । तस्बिर : खगेन्द्र/नागरिक

कोरोना जितेर स्वस्थ्य हुनेहरुले भनेका छन्–‘शरीरमा आत्मविश्वास र रोग प्रतिरोधी क्षमताको विकासले कोरोनालाई सजिलै परास्त गर्न सकिन्छ’ । कोरोना जितेर फर्किएकाहरुको यिनै अनुभवलाई आधार मानेर जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले क्वारेन्टिनमा रहेका र उनीहरुको स्याहार तथा रेखदेखमा खटिएका जनशक्तिका लागि रोग प्रतिरोधी क्षमता बढाउने आयुर्बेदिक जडिबुटी प्रदान गर्न थालेको छ ।  

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख टेकनाथ अर्यालका अनुसार केन्द्रमार्फत रोग प्रतिरोधात्मक क्षमता बढाउने अस्वगन्धाचूर्ण, मठीमधुचूर्ण, गुडुचीचूर्ण र अमृत चिया वितरण गर्न थालिएको छ । पहिलो चरणमा यहाँका बिभिन्न क्वारेन्टिनमा रहेकाहरुलाई रोग प्रतिरोधी क्षमताका यी जडिबुटीजन्य औषधिजन्य औषधि वितरण गरिने छ । 

त्यसपछि सर्वसाधारणका लागि समेत बितरण प्रकृया सुरु गरिने उनले जानकारी दिए । गुर्जो,घोडताप्रे,अदुवा,बेसार,मरिच र जेठीमधु लगायतका मसला तथा औषधिजन्य जडिबुटीको मात्रा मिलाएर सेवन गर्नाले पनि मानिसमा रोग प्रतिरोधी क्षमताको विकास हुने चिकित्सकहरुले बताउँदै आएका छन् । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमस्थित सिँवा माविमा रहेको क्वारेन्टिनमा रहेका १८ जना तथा क्वारेन्टिनको व्यवस्थापनमा खटिएका सहित करिव ३० जनालाई जडिबुटी तथा मसलाबाट बनेका रोग प्रतिरोधी क्षमताका औषधिजन्य सामग्री वितरण गरेको केन्द्र प्रमुख अर्यालले जानकारी दिए ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका अनुसार अहिले ताप्लेजुङमा ७० जना क्वारेन्टिनमा रहेका छन् । बिभिन्न स्थानबाट जिल्ला भित्रने क्रम सुरु भएसंगै क्वारेन्टिनमा रहनेको संख्य पनि बढ्दै जाने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।  

 

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:१३ बिहीबार

क्वारेन्टिन रोग प्रतिरोधी क्षमता औषधिजन्य जडिबुटी