समाज

चालक ‘रिसाउँदा’ कर्णालीमा टिपर

भारतबाट आएका यात्रुसँगको विवादमा चालकले उकालोमा टिपर स्टार्ट गरेर छोडिदिँदा कर्णालीमा खसेर दुई जनाको मृत्यु भएको छ । तीन वर्षीया एक बालिकासहित दुई जना कर्णालीमा बेपत्ता छन् । दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार राष्टकोट नगरपालिका–२ सिप्खानाकी २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया थम्की सार्कीको घटनास्थलमै मृत्यु भएको छ । राष्टकोट नगरपालिका–३ कि तीन वर्षीया बालिका सरिता सार्की र ३५ वर्षीया कमला सार्की कुमाल बेपत्ता छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीया निस्पता सार्की र २८ वर्षीय मिन सार्कीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । ३५ वर्षीय प्रजे सार्की, अनिता सार्की, विवेक सार्की, अशोक परियार, गोविन्द सार्की र तीन महिनाको एक बालकको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

भारतको गुजरात र उत्तरकाशीबाट आएका ३९ जना यात्रु बोकेर ना८ख ५१३३ नम्वरको टिप्पर नरहरिनाथ गाउँपालिका–१ को जितेगडाबाट बुधबार विहान १० बजेतिर राष्टकोट नगरपालिका जाँदै थियो । साढे १० बजेतिर लालीघाटमा पुगेपछि गुजरातबाट आएका यात्रु र टिप्पर चालक रंगनाथ धमालाबीच विवाद सुरु भयो ।  

‘एउटै टिप्परमा भारतका छुट्टाछुट्टै स्थानबाट आएका यात्रुहरु कोचाकोच गरेर राखेको भन्दै गुजरातबाट आएका यात्रुहरुले चालकसँग विवाद गरे, हानाहान पनि भयो’ यात्रु गोपाल सार्कीले भने, ‘विवाद बढ्दै जाँदा उकालोमै स्टार्ट गरिराखेको टिप्पर छोडेर चालक भागेपछि ब्याक भएर कर्णाली नदीमा खस्यो ।’ चालक विनाको टिप्पर पछाडी सर्न थालेपछि अधिकांस यात्रुले हाम फालेर ज्यान जोगाएका थिए । चालकले उकालोमा स्टेयरिङ छोड्दा गुजरातबाट आएका १८ जना यात्रु झरिसकेका थिए । ‘गुजरातबाट आएकाहरु हामी जाँदैनौं भन्दै झरेर चालकसँग विवाद गर्न थाले,’ उनले भने, ‘आरोलोमा रोकिएको टिप्पर एक्कासी पछाडी सर्दै कर्णाली नदीमा डुब्यो ।’

गाडी पछाडी सर्न थालेपछि उत्तरकाशीबाट आएका अधिकांस यात्रुहरुले पनि हामफालेका थिए । ‘गाडी कर्णालीमा खस्दा १० जना यात्रु मात्रै टिप्परमा थियौं, ति मध्ये अधिकांस महिला र बालबालिका थिए,’ उनले भने, ‘दुईको मृत्यु भयो, दुई जना अझै बेपत्ता छन्, केही घाइते भयौं ।’ प्रहरीका अनुसार कर्णालीमा बेपत्ता भएकाको खोजीकार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु लोहियाले भारतको गुजरातबाट आएका १८ जना र उत्तरकाशीबाट २१ जना यात्रुहरु टिप्परमा रहेको जानकारी दिए । ‘दुबै समुहमा आएका यात्रुहरुलाई एउटै टिप्परमा राखेर लिँदा विवाद भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी लोहियाले भने, ‘विवाद बढ्दै जाँदा यो घटना भयो ।’ टिप्पर सडकदेखि २० मिटर तल कर्णालीमा खसेको छ ।  

३९ जना यात्रुसँग टिप्परमा दुई जना प्रहरी र एक जना सहचालक थिए । प्रहरी नियन्त्रणमा रहेका चालकले आफुमाथि यात्रुहरुले कुटपिट गरेपछि टिप्पर छोडेर भागेको बयान दिएका छन् । उनलाई घटनास्थलभन्दा पाँच किलोमिटर अघाडीबाट प्रहरीले पक्राउ गरेको थियो । चालकको नाक र मुखमा चोट छ ।

‘यात्रुहरुले कुटपिट गरेपछि रिसको झोकमा स्टार्टमै रहेको टिप्पर छोडेर आफु भागेको बयान चालकले दिएका छन्,’ डिएसपी लोहियाले भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’  

मुख्यमन्त्री कालिकोटमा

टिप्पर दुर्घटनामा घाइते भएका यात्रुको उद्दारका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टर लिएर काठमाडौं पुगेका मुख्यमन्त्रीले दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाएका छन् । मुख्यमन्त्री शाहीले घाइतेहरुको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने बताए । ‘भारतबाट आफ्नो घर फर्कदैं गरेका नागरिक चढेको टिप्पर दुर्घटनाले गम्भीर बनाएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘घटनाको सत्यतथ्य छानविन गर्न स्थानीय प्रशासनलाइ निर्देशन दिनुका साथै घाइतेहरुको उपचारको व्यवस्थापन गरिरहेका छौं ।’ मुख्यमन्त्रीसँगै कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी वशन्त पन्त पनि कालिकोट पुगेका छन् ।

प्रकाशित: २८ जेष्ठ २०७७ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App