समाज

आफ्नैबाट लुटिन्छ कलिला छोरीहरूको अस्मिता

क्याप्शन

नेत्रावती डबजोङ गाउँपालिकाकी ९ वर्षिया बालिका आफ्नै बाबुबाट बलात्कारको सिकार बन्न पुगिन् । उनी सानै हुदाँ आमाले अर्को बिहे गरिन् । आमाको सहारा टुटेपछि बुबासँग बस्दै आइरहेकी उनी बाबुको डरधम्की र पिटाइ सहन बाँध्य भइन् । शारीरिक तथा मनोवैज्ञानिक रूपमा परिपक्व नुहँदै कलिलै उमेरमा बारम्बार आफ्नै बुबाबाट बलात्कृत हुनुपर्यो । पीडा सहन नसकेपछि न्यायका लागि आफै प्रहरी गुहारिन् । अतः प्रहरीको सहयोगमा उनलाई उद्धार गरि जेठ २५ गते धादिङबेसी ल्याइयो । घटना सार्वजनिक भएपछि बलात्कार गर्ने बाबु प्रहरीले नियन्त्रणमा छ ।

ज्वालामुखी गाउँपालिकाकी १६ वर्षीया बालिकाको पिडा पनि कम छैन । घरको मुलव्यक्ति बाबु बितेपछि काकाको सहारामा आमा र भाइसँग बस्दै आइहेकी उनी पनि बलात्कारको सिकार बन्न पुगिन् । संरक्षकको जिम्मेबारी बहन गर्ने काकाबाट उनैको घरमा बलात्कृत हुनु पर्यो । बलात्कारपछि गर्भ रहेको थाहा पाएपछि गर्भपतनका लागि पीडक (काका) ले नै धादिङ अस्पताल, चितवन लगायतका ठाउँमा पुर्याए ।

घटनाको बारेमा गाउँलेलाई थाहा भएपनि गाउँलेहरू मुकदर्शक भएका थिए । गर्भपतन गरेपछि घटना साम्य हुने अभिलासा राखेका घरपरिवार र गाउँलेहरू बालिकाको न्यायको पक्षमा उभिएनन् । गर्भपतनका लागि विभिन्न अस्पताल चाहर्दा सम्भव नहुने भएपछि घटना सार्वजनिक भयो । गर्भपतनका लागि चितवन पुर्याइएका बालिकालाई वैशाख १२ गते उद्धार गरी धादिङ ल्याइयो । उद्धार गरिएको भोलिपल्टै जिल्ला अस्पताल धादिङबेसीमा ७ महिनाको बच्चालाई जन्म दिइन् ।

यी त प्रतिनिधि घटनाहरू मात्र हुन् । एउटी फूलजस्ती बालिकामाथि कल्पना पनि गर्न नसकिने बलात्कारको घटना कुनै अनौठो होइन । यो न पहिलो घटना थियो, न अन्तिम नै । यी बालिकाहरूमा ओँठको हाँसो र अनुहारको निश्चलता गुमेको छ । बुबाले छोरी, काकाले भतिजी, मामाले भान्जि, हजुरबुबाले नातिनी, दाईले बहिनीलाई बलात्कार गरेको घटना हाम्रै समाजमा घटिरहेका छन् । लकडाउनको अवधिमा मात्र धादिङ जिल्लामा १० वटा बलात्कारका घटना भएका छन् भने चार वटा जवरजस्तीकरणीको घटना घटेका छन् । यी घटनाको सिकार बालिकाहरू बनेका छन् भने आफ्नै घरपरिवार र चिनजानकै मानिसहरूबाट भएका छन् ।

माया र स्नेह गर्ने बाबुबाटै गहिरो चोट पाएकी ती बालिकाले न आफ्नो पढाइलाई अगाडि बढाउन सकिन्, न उमेरजन्य परिपक्वता नै उनीमा हुर्किंदै गयो । पढ्दै गरेकी ती बालिका अभिभावकको मायाबाट त बञ्चित भइन् नै, घरपरिवार, आफन्तहरूबाट समेत टाढा भइन् । लज्जाको विषय, बलात्कारबाट पीडित हुने भने सधै‌ हुर्किँदै गरेका, भर्खरमात्रै सपना देख्न थालेका कलिला बालिकाहरू भइरहेका छन् । यी बालिकाहरू सहयात्री समाज नेपालले संचालन गरेको सेफ हाउसको संरक्षणमा छन् ।

बलात्कृत बालिकाहरूको संवेदनशीलतालाई बुझ्ने सामाजिक संरचनाको अभावमा उनीहरू अथाह चोट सहेर हुर्किन विवश रहेको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता राधिका सापकोटाले बताइन् । ‘बलात्कारबाट पीडित अधिकांश नानीहरू विक्षिप्त मानसिकताको सिकार भएर बाँच्न अभिशप्त देखिन्छन्’ सापकोटाले भनिन्, ‘मनोवैज्ञानिक रूपमा परिपक्व नभएका उनीहरू बलात्कारको चोटभन्दा त्यसपछि आइपर्ने अनेकन अप्ठ्यारासँग जुध्न सकिरहेका देखिनन् ।’

जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा जवरजस्ती करणीका २१ वटा, जबरजस्तीकरणी उद्योगका ११ वटा मुद्धा दर्ता  भएका छन् । त्यस्तै आ.व २०७५/७६ मा जवरजस्ती करणीका २८ वटा, जबरजस्तीकरणी उद्योगका ११ वटा र बाल यौन दुव्यवहारका ५ वटा दर्ता छन् । आ.व २०७६/७७ को हालसम्म जवरजस्ती करणीका २२ वटा, जबरजस्तीकरणी उद्योगका १२ वटा र बाल यौन दुव्यवहारका २ वटा दर्ता भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

लोभमा, करकापमा र परिबन्दमा पारेर कलिला नानीहरूमाथि झम्टिने प्रत्येक घटना हृदयविदारक छन् । बलात्कारबाट पीडित भएका स–साना छोरीहरू न्यायिक उपचारका निम्ति बारम्बार घटनाको बयान बताउँदा मानसिक रूपमा हतास हुन्छन् । जाहेरी दर्खास्त लेख्ने बेला, प्रहरीमा मौखिक बयान दिने बेला, अस्पतालका स्वास्थ्य परीक्षणका क्रममा ७ पाने फारम भर्ने क्रममा र अदालती बयानमा उनीहरूले बारम्बार दुस्वप्नजस्तो घटनाको साविती कहनुपर्छ । यसले गर्दा घटनाको वास्तविकता लुक्ने गरेको छ ।

यस्ता घटनामा पीडित सधैँ कमजोर हुने र पीडकलाई सधैँ समाजले संरक्षण गर्ने गर्ने हुदाँ यस्ता घटनाहरू मौलाइरहेको अधिवक्ता सापकोटाले बताइन् । ‘बलात्कारको चोटमा परेका बालिकाहरूलाई मनोवैज्ञानिक रूपमै बलियो बनाउन र समाजमा पुनस्स्थापना गर्नु सजिलो छैन’ सापकोटाले भनिन्, ‘घिनलाग्दो बलात्कारको हर्कत आफ्नै परिवार र समाजबाट भइरहेका तर समाजले पीडितको न्यायमा भन्दा पनि पीडकको संरक्षणमा जोड दिन्छन् ।’

प्रकाशित: २८ जेष्ठ २०७७ ०९:४६ बुधबार

बलात्कार अस्मिता