समाज

कोभिड अस्पतालबाट २० जना डिस्चार्ज, १२ जना भर्ना

सिरहाको विभिन्न स्थानबाट कोराना संक्रमण भई कोभिड अस्पतालमा ल्याइएका २० जना संक्रमणमुक्त भइ घर फर्केका छन् । सिरहामा पहिलो पटक कोरोना पराजित गरेकाहरूलाई जिलाका स्वास्थ्य तथा सुरक्षा प्रमुखहरू पुष्प गुच्छा दिएर अस्पतालबाट बिदा गरेका थिए ।

सिरहाको धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचारपछि निको भएका २० जनालाई प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, जिल्ला कोभिड अस्पतालका प्रमुख डा. नागेन्द्र यादवले पुष्पगुच्छा तथा हाललाई संक्रमणमुक्तको प्रमाणपत्र दिएर विदाई गरेका थिए ।

गत जेठ ३ गते पिसिआर पोजिटिभ पाइएका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका (१ लतियाहीका पहिलो संक्रमित युवादेखि गत जेठ १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भइ अस्पताल भएकाहरुसम्म थिए । भर्ना भएका सबैलाई तेश्रो चरणको परीक्षणपश्चात विदाई गरिएको हो ।

विदाईपछि उनीहरुले अझ १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने जिल्ला कोभिड अस्पताल सिराहाका प्रमुख डा. यादवले बताए।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहा क्वारेन्टिनका १० जना, सुखिपुर क्वारेन्टिनका १ जना र बरियारपट्टी गाउँपालिका (१ नरगी क्वारेन्टिनका १ जना रहेको प्रजिअ गुरागाईंले जानकारी दिए। संक्रमण पुष्टि भएका सबैलाई उपचारका लागि महेन्द्र गेनाई कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । यो सँगै सिरहामा कोरोना संक्रमण हुनेको सँख्या ६१ पुगेको छ ।

प्रकाशित: २७ जेष्ठ २०७७ १५:३५ मंगलबार

डिस्चार्ज कोभिड अस्पताल भर्ना