समाज

संक्रमितलाई नै घर पठाइयो, गाउँमा त्रास

क्याप्शन

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोरोना संक्रमितहरूलाई घर पठाउन थालिएपछि गाउँमा त्रास फैलिन थालेको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालेपछि गाउँमा त्रास फैलिएको हो । केही दिनअघि मन्त्रालयले निर्देशिका जारी गर्दै १४ दिनसम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितहरूलाई घर पठाउन भनेपछि बैतडीका चार र अछामका दुई जना संक्रमितलाई प्रादेशिक अस्पताल धनगढीले घर पठाएपछि गाउँमा त्रास फैलिएको हो ।

बैतडीको शिवनाथ गाउँपालिका–१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई घर पठाएको थियो । जेठ २३ गते अस्पतालले निको नहुँदै घर पठाएका उनीहरु चारै जना २५ गतेमात्रै घर पुगेका हुन् । गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीरुमा जेठ १० गते कोरोना पुष्टि भएको थियो । उनीहरु सबैलाई घरकै आइसोलेसनमा राखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए ।

‘भारतबाट फर्किएका तर संक्रमण पुष्टि नभएका व्यक्तिलाई गाउँ पठाउँदा त त्रास थियो,’ स्वास्थ्य शाखा प्रमुख महताले भने, ‘अहिले संक्रमितलाई नै निको नहुँदै घर पठाइएपछि झनै त्रास फैलिएको छ । तर पनि हामीले सुरक्षा सतर्कता अपनाउँदै घरमा सुरक्षित राखेका छौं ।’ यस अघिसम्म अन्तिममा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको खण्डमा मात्रै डिस्चार्ज गराइन्थ्यो नयाँ निर्देशिकाले संक्रमणकै अवस्थामा गाउँ पठाउँदा गाउँघर सर्वसाधारण त्रासमा रहेको शिवनाथ गाउँपालिका–२ का प्रेम चाडले बताए ।

उहाँहरूलाई घरमा सुरक्षित रुपमा बस्ने र कसैको पनि सम्पर्कमा नआउने गरि बसोबासको व्यवस्थापन गर्न भन्दै घरमै होम क्वारेन्टिनमा राखिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने ‘उहाँहरू परिवारका अन्य सदस्य तथा गाउँ समाजमा घुलमिल हुन पाउदैनन् ।’

यसअघि अस्पतालले लगातार दुईपटक सम्म कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गर्ने गरेको थियो । तर अहिले कोरोना जाँचै नगरेर संक्रमितहरूलाई घर पठाउन थालिएपछि स्थानीयहरूमा कोरोना संक्रमणको त्रास झनै बढेको छ ।

अस्पतालले कोरोना निको नहुँदै १७ दिनपछि डिस्चार्ज गरेपछि गाउँपालिकाले गाडीमा घरसम्म पु¥याएको थियो । संक्रमित निको नहुँदै गाउँ पठाएपछि गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन् । भारतबाट आएकाहरुहरुलाई स्थानीय तहले १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी टेष्ट गरेर नेगेटिभ आएकालाई एक हप्ता घरमै अलग बस्न आग्रह गर्दै पठाउने गरेको छ । उनीहरु गाउँघरमा निर्वाध घुम्न थालेपछि समस्या निम्ताएको नागार्जुन मावि, शर्मालीका प्रअ महामलसिंह साउँदले बताए । ‘इमान्दार रुपमा नेगेटिभ आएकाहरु सुरक्षित बसेका छैनन,’ प्रअ साउँदले भने, ‘केही व्यक्ति मात्र नियमको पालना गरेका छैन् । अधिकांश खुलामखुला घुम्न थालेका छन् ।’

जिल्लामा पछिल्लो समय भारतबाट भित्रिएका करिब साढे पाँच हजरभन्दा बढी नागरिक क्वारेन्टिनमा बसेका थिए । उनीहरुमध्ये करिब साढे तीन सय जनाको आरडिटी पोजिटिभ आएपछि क्वारेन्टिनमै राखिएको छ । नेगिटिभ आएकाहरुलाई घर पठाएको छ भने पोजिटिभ आएकाहरुको पिसिआर रिपोर्ट नआउँदासम्म क्वारेन्टिमै राखिएको छ । रिपोर्ट नआउँदासम्म घर पठाइएकाहरु सुरक्षित नबसे समुदायसम्म कोराना फैलिने स्वास्थ्यकर्मी बताउँछन् । ‘घरपरिवार र आफ्नो लागि पनि एक हप्ता सुरक्षित बस्नु प¥यो,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने,‘नियमको पालन गर्न आवश्यक छ, हामीले घर पठाउँदा अनिवार्य एक हप्ता अलग बस्न भनेका छौं ।’

जिल्लामा समुदायसम्म कोरोना फैलिए नियन्त्रण गर्न समस्या हुने ढुंगाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए । विदेशबाट फर्केकाहरुले मात्र होइन हामी सबैले नियमको पालना गर्दै सुरक्षा अपनाउन आवश्यक देखिएको उनी बताउँछन् ।

प्रकाशित: २७ जेष्ठ २०७७ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App