समाज

३६ जनालाई ४० दिनको न्यूनतम रोजगार

खोटाङको खोटेहाङ गाउँपालिकाले बेरोजगार ३६ जना स्थानीयलाई ४० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न गराएको छ । रोजगार सेवा केन्द्रको समन्वयमा गाउँपालिकाले नौ वडाका चार/चार जना बेरोजगार नागरिकलाई न्यूनतम रोजगारीमा संलग्न गराएको हो । 

रोजगारको हक सम्वन्धी ऐन, रोजगारीको हक सम्बन्धी नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार स्थानीय तहको मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा स्थानीयलाई न्यूनतम रोजगारमा संलग्न गराइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।  

बेरोजगार नागरिकलाई गत जेठ १५ गतेदेखि गाउँपालिकाको सबै वडालाई छोएको रसुवा–पानधारे–खोटाङबजार–पामाखाम भञ्ज्याङ सडक मर्मतमा खटाइएको छ । उनीहरुलाई आ–आफ्नो वडाभित्रको सडक खण्डको विग्रेका ठाउँ मर्मतको जिम्मा दिइएको छ । बेरोजगारलाई सय दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न गराउनुपर्ने व्यवस्था भए पनि बजेट ढिलो आएकाले ४०/४० दिन मात्र काममा लगाइने गाउँपालिका अध्यक्ष राईले बताए । ‘खासमा सय दिन बराबरको रोजगारी दिनुपर्ने हो, तर यसपल्टको बजेट ढिलो आयो,’ अध्यक्ष राईले भने, ‘बाँकी समयभित्र ४० दिन मात्र न्यूनतम रोजगारीमा संलग्न गराउन सकिने अवस्था भए अनुशार कार्यक्रम सुरु गरेका छौँ ।’  

रोजगार कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकामा १० लाख बजेट आएको थियो । त्यसमध्ये एक लाखको आवश्यक सामग्री खरिद गरेर नौ लाख रुपैयाँ रकम प्रतिवडा एक-एक लाखका दरले खर्च गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।  

यस्तै, खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन हुने रोजगार कार्यक्रमको पनि तयारी थालेको छ । न्यूनतम रोजगारीमा संलग्न हुन र सार्वजनिक विकास निर्माणका काममा योगदान गर्नका लागि इच्छुक स्थानीयलाई जेठ महिनाभित्र बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन भनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । 

प्रकाशित: २७ जेष्ठ २०७७ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App