समाज

दीर्घ रोगीको मृत्युको कारण बन्यो कोरोना

मिर्गौलाका दीर्घरोगी, अरु रोग पनि थिए उनलाई । यसै पनि शारीरिक अवस्था नाजुक हुँदै गएको थियो । त्यसैमाथि कोरोना देखिएपछि परिवारले उनको आश मारिसकेका थिए । नभन्दै भयो त्यस्तै । उनले आइतबार राति सधैंका लागि सबैसित बिदा लिए ।  

अन्य रोग भए पनि स्याङजा वालिङ नगरपालिका–३ का ६० वर्षीय पुरुषको मृत्युको कारक कोरोना संक्रमण बनिदियो । पोखरामा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो, जो गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने  पहिलो  भए । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

ती पुरुष मिर्गाैलाबाहेक मधुमेह, रक्तअल्पता, सेप्टिसिमिया (रगतमा ब्याक्टेरिया संक्रमण)  पनि थियो । दुवै मिर्गाैलाले काम नगरेपछि उनी ६ महिना अघि थप उपचारका लागि भारत पुगेका थिए । उपचारकै क्रममा कोरोनाका कारण लकडाउनको मारमा परेका ती व्यक्ति ६ दिनअघि गृहनगर फर्किएका थिए । गृहनगर पुगे पनि ती व्यक्ति घर पुग्न पाएनन् । घर नजिकैको क्वारेन्टिनमा दुई रात बिताएका ती पुरुष कोरोना संक्रमण आशंमा पोखरा आएका थिए । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना मात्र नभई दीर्घरोगले च्याप्दा ती व्यक्तिको ज्यान गएको बतए ।

‘ती व्यक्ति लामो समयदेखि फरक–फरक दीर्घरोगबाट पीडित रहेछन्,’ डा. आचार्यले भने, ‘पोखरामा आएर परीक्षण गर्दा कोरोना पनि पुष्टि भयो ।’ आइतबार दिउँसो अस्पताल भर्ना भएका ती व्यक्तिको राति साढे ११ बजे मृत्यु भएको थियो ।

भारतबाट फर्केका ती व्यक्तिलाई वालिङ नगरपालिकाले भिन्नै सवारीसाधन व्यवस्था गरेर सुनौलीदेखि स्याङजासम्म आउने व्यवस्था मिलाएका थियो । वालिङ नगरपालिका–३ का अध्यक्ष शुकराज गुरुङका अनुसार ती व्यक्ति ६ महिनाअघि पत्नीसहित उपचारका लागि भारत पुगेका थिए । दुवै मिर्गौला फेल भएका ती व्यक्तिले  उपचार गराइरहेका थिए । त्यसबाहेक अन्य रोगले पनि पीडित रहेको वडाध्यक्ष गुरुङले बताए । बिरामी ती व्यक्ति लकडाउनले भारतमा थुनिएको जानकारी पाएपछि नगरपालिकाले ल्याउने व्यवस्था मिलाएको गुरुङले बताए ।‘ 

कठिनकासाथ हामीले सुनौलीसम्म ल्याउने व्यवस्था मिलायौं । सुनौलीबाट वालिङ ल्याउन पनि भिन्दै जिपको व्यवस्था मिलायौं,’ गुरुङले भने । ‘दुई दिन क्वारेन्टिनमा राखियो  तर अवस्था झनै कमजोर हुँदै गयो । ज्वरो पनि देखियो, दिसापिसाब पनि गर्न नसक्ने अवस्था भएपछि हामीले ती व्यक्तिलाई पोखरा अस्पताल पठाएका हौं,’ गुरुङले भने । उनकी पत्नीमा कान नसुन्ने समस्या छ । गुरुङले भने भने, ‘ती व्यक्तिले भारतबाट आएपछि गाउँ त टेके तर घर टेक्न पाएनन् । उताबाट आएपछि सीधै क्वारेन्टिनमा राखियो, त्यसपछि पोखरा पठाइयो ।’  

मृतकका दुई छोरी पोखरामा बस्छन् । मृतकको सम्पर्कमा पुगेका पत्नी र छोरीलाई पनि क्वारेन्टिनमा राखेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गुरुङ समुदायका भएकाले मृतकको शव गाड्ने निर्णय भएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । शर्माका अनुसार नेपाली सेनाको विशेष टिमले शव व्यवस्थापन गर्नेछ ।  

यसैबीच पोखरा महानगरपालिकाका एक ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषको पोखरास्थित क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App