समाज

नीति तथा कार्यक्रम निर्माणमा गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबं योजना निर्माणमा जुटेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि गाउँपालिकाले विषयगत समिति र सरोकारवालासँग अन्तरक्रीया गर्दै नीति तथा कार्यक्रम एबं योजनालाई अन्तिम रुप दिने तयारी थालेको हो । विषयगत समिति र गाउँपालिकाको सम्बन्धित विषयका सरोकारवालाबीचमा भएको छलफल, बहस र रायका आधारमा नीति तथा कार्यक्रम एबं योजनालाई अन्तिम रुप दिइने गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।  

गाउँपालिकाले आईतबारदेखि सामाजिक दुरी कायम गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबं योजना सम्वन्धी विषयगत समितिहरु र सरोकारवालासँगको पाँच दिने अन्तरक्रीया सुरु गरेको छ । अन्तरक्रीयाको पहिलो दिन वन वातावरण तथा विपद व्यवस्थापन समितिको विषयमा छलफल गरिएको छ । सोमबार सामाजिक बिकास समितिको विषयमा छलफल गरिएको छ । 

जेठ २७ गते सुशासन तथा संस्थागत बिकास समिति, जेठ २८ गते आर्थिक बिकास समिति र जेठ २९ गते पूर्वाधार बिकास समितिको विषयमा आवश्यक छलफलसहित नीति तथा कार्यक्रम एबं योजना तय गरिने गाउँपालिका अध्यक्ष राईले बताए । ‘सम्वन्धित सरोकारवालाको सहभागीतामा सबैको सल्लाह, सुझावका आधारमा गाउँपालिकाको नीति तथा कार्यक्रम र योजनालाई बनाउने तयारी गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘सम्वन्धित विषयका सरोकारवालाको प्रतिनिधित्व गराएर छलफल गर्दा नीति तथा कार्यक्रम र योजना फलदायी हुने हाम्रो अपेक्षा छ । यसो गर्दा सबैको अपनत्व पनि सिर्जना हुने हाम्रो बुझाई छ ।’  

कृषि कार्यक्रम योजना तर्जुमा गोष्ठी, गाउँपालिकाको विभिन्न शाखा अन्तरगत सम्पादित कामको मूल्यांकन, समिक्षा एबं आगामी आर्थिक वर्ष तय गर्नुपर्ने योजनाका बारेमा छलफल, राजस्व परामर्श समितिको बैठक, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एबं योजना निर्माणको विषयमा अन्तरक्रीया सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:४३ सोमबार

नीति तथा कार्यक्रम गाउँपालिका