समाज

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण

सन्धिखर्कका जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखा परेको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

भारत लगाएत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने उपमेयरले बताए । ‘म नगरपालिका भन्दा बाहिर गएको छैन, उनले नागरिकसंग कुरा गर्दै भने,‘संक्रमितहरुबाट सरेकोे हुन सक्छ ।’ तातोपानी र जडिबुटी खाएर घरमै आराम गर्ने भन्दै उनले स्वास्थ्य अवस्था सामान्य रहेको बताए । कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ,उनले थपे,‘यसलाई सामान्य रुघाखोकीका रुपमा लिएको छु ।’

उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् । भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ । अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टी भएको यो पहिलो पटक हो । नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकामा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०८:५० सोमबार

कोरोना संक्रमण सन्धिखर्क नगरपालिका