समाज

उपत्यकामा बढ्न थाल्यो चहलपहल

लकडाउनले छेकेन सवारी ओहोरदोहोर

सरकारले गरेको लकडाउनको मिति जेठ ३२ सम्मको हो । त्यसउता लकडाउन बढाउने वा नबढाउने ठोस निर्णय सरकारले गरेको छैन । सरकारले लकडाउन भनिरहेको बेला उपत्यकाका सडकमा दुई दिनयताको दृश्यले लकडाउनको कुनै छनक देखाउँदैन । लामो समय बन्द हुँदा दैनिकी गुजार्न कठिन परेपछि सर्वसाधारण लकडाउन अवज्ञा गर्दै आफ्नो पेसाव्यवसायमा फर्कन थालेका छन् । 

सरकारले आइतबारदेखि अत्यावश्यक सरकारी कार्यालय सुचारु हुने निर्णय गरेको थियो । सरकारको यो निर्णयलाई लकडाउन खुकुलो पार्ने संकेतका रूपमा लिँदै सर्वसाधारण ओहोरदोहोर गर्न थालेका हुन् । जसले गर्दा आइतबार काठमाडौंका सडकमा सवारीसाधनको चाप बढेको थियो । कामका कारणले सडकमा निस्कनु त छँदै छ, कोही काम नभएकाहरू पनि अब सकडमा निस्कन थालेका छन् । सार्वजनिक सवारीसाधन धेरै नचले पनि निजी गाडी भने निर्बाध गुड्न सुरु गरेका छन् । 

कोरोना महामारी फैलन नदिन सरकारले गरेको लकडाउनले ७७ दिन पार गरेको छ । तर, जोखिम भने झन् बढिरहेको छ । जोखिमलाई सामना गर्ने आँटसहित आफ्नो दैनिकी सुचारु गर्न आतुर हुँदै सहरवासी बाहिर निस्कन थालेका हुन् । ‘कतिन्जेल भित्रै बस्नु, अब त व्यापार पनि चौपट भयो, त्यसैले आफू जोगिएर सानोतिनो भए पनि व्यापारतिर लाग्नुपर्छ,’ तिनकुनेमा आरएन फेन्सी स्टोर चलाउँदै आएका महेश पुलामीले भने, ‘भित्रै बस्दा सटरको भाडा कसले तिरिदिन्छ ।’ 

कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । लामो समयको लकडाउनबाट आजित बनेका सहरवासी बाहिर निस्कन थालेसँगै खुकुलो हुँदै गएको छ । ‘सधैं भित्रै बसेर दैनिकी चल्दैन, अब कोरोनासँग जिउन सिक्नुको विकल्प छैन,’ गैरीगाउँका घनश्याम अधिकारीले भने, ‘त्यसैले आफू सचेत रहेर पेसाव्यवसाय सुचारु गर्न आवश्यक छ ।’

त्यसो त लकडाउन खुकुलो भएको महसुस गर्दै सर्वसाधारण ओहोरदोहोर गर्न थाले पनि प्रहरीले भने कारबाहीमा छुट दिएको छैन । मुख्यमुख्य चेक प्वाइन्टमा बिनाकाम आहोरदोहोर गर्नेलाई प्रहरीले सकडमा घन्टौं उभ्याएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार लकडाउन उल्लंघन गरेका २ हजार २ सय ४८ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिनाकाम बाहिर निस्किएकाहरूको सवारी घन्टौंसम्म प्रहरीले सकडमै रोकेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनराम श्रेष्ठका अनुसार सरकारले लकडाउन गरेको बेला जथाभावी हिँड्नेलाई प्रहरीले कारबाही गर्दै आइरहेको छ । ‘प्रहरीले सरकारको निर्देशनअनुसार कारबाही गरेको छ, लकडाउनका बेला नियम नमान्नेलाई हामीले सडकमै उभ्याएका छौं,’ उनले भने । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०१:४५ सोमबार

लकडाउन चहलपहल