समाज

जवरजस्ती करणीमा प्रतिवादी पुर्पक्षका लागि जेल चलान

खोटाङमा जवरजस्ती करणी मुद्धामा एक प्रतिवादी पुर्पक्षका लागि जेल चलान भएका छन् । १९ वर्षकी युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–७ सुंदेलका २० वर्षीय सागर राई पुर्पक्षका लागि जेल चलान भएका हुन् । जेठ २३ गते जिल्ला अदालतबाट भएको थुनछेक आदेशबाट उनी कारागार पठाइएका हुन् ।  

बयानपछि अदालतबाट एक लाख नगद धरौटी बुझाउन वा सो बराबरको जमानत राख्नका लागि थुनछेक आदेश भएकामा धरौटी वा जमानत राख्न नसकेपछि उनी पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालतका निमित्त श्रेष्तेदार मनकुमार राईले बताए । उनीमाथि जेठ ७ गते युवतीमाथि जवरजस्ती गरेको अभियोग छ ।  

जवरजस्ती गर्नमा सहयोग गरेको अभियोगमा सोही ठाउँका नगेन्द्र भनिने २५ वर्षीय योसेफ राई २५ हजार धरौटी बुझाएर तारिखमा छुटेका छन् । यस्तै, सहयोग गरेकै अभियोगमा १७ वर्षका नावालकलाई भने अदालतले खोजेको समयमा उपस्थित हुनेगरी छाडेको जनाएको छ । पिडित पक्षको उजुरीका आधारमा उनीहरुलाई जेठ ९ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध जेठ २२ गते अदालतमा अभियोग भएको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:३० आइतबार

जवरजस्ती करणी जेल चलान