समाज

राजधानीमा फ्लाईओभर सपना मात्रै बाडिन्छ, बनाइदैन

सरकारले आर्थिक वर्ष २०६६/६७ सालको बजेट वक्तव्यमा पहिलो पटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो। त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नै तयार भएको छैन। अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६–७७)को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म पलाईओभरको विस्तृत  सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने ’ घोषणा गरेका थिए।  

अर्थमन्त्रीले उक्त घोषणा घोषणा गरेको गत जेठ १५ गते एक वर्ष बित्यो। त्यसतर्फ कुनै प्रगती जनताले देख्न पाएका छैनन्। उनै मन्त्री खतिवडाले आगामी आर्थिक वर्ष (२०७७–७८) को बजेटमा फेरि पनि काठमाडौं कलंकी खण्डको तीन स्थानमा नेपालमै पहिलो पटक पलाईओभर निर्माण गर्ने घोषणा गरेका छन्। खतिवडा त्यतिमा मात्रै सीमित छैनन्, काठमाडौंको तिनकुने कोटेश्वर जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पुरा गरी पलाईओभर तथा सुरुग मार्ग निर्माण प्रारम्भ गर्न तथा नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य सुरु गर्न बजेट व्यवस्था गरेको बजेट बक्तब्यमा उल्लेख छ।  

सरकारले  ११ वर्षदेखि उपत्यकामा फ्लाइओभर निर्माण गर्ने घोषणा केबल घोषणामा मात्रै सीमित भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला सरकारले फ्लाइओभर बनाउने घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृत्तिकै कारणले एक दशकदेखि उपत्यकामा बन्न नसकेको बताउँछन्।

‘सरकारले बजेटमा मात्रै घोषणा गर्ने काम गयो। तर, फ्लाइओभरको लागि चाहिने आवश्यक बजेट विनियोजन गरेन, ’ उनले भने, ‘जसको कारणले फ्लाइओभर निर्माण कार्यले गति लिन नसकेको हो।’ पूर्वसचिव सिटौलाले फ्लाइओभरका केही अध्ययन भएपनि तत्कालै कार्यान्वयन नहुँदा ति अध्ययन बेकामे भएको बताउँछन्। ०६७ सालमा बानेश्वरचोकमा फ्लाइओभरको सम्भाव्यता अध्ययनका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, त्यसको ६ वर्ष बितिसक्दा समेत फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बन्न सकेको छैन। ०६८ सालमा बानेश्वर माइतीघर सडक विस्तार हुनु अगावै २०६८ सालमै फ्लाइओभरका लागि बंगलादेशी र नेपाली  टोलीले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनको उपादेयता समेत सकिएको छ। पूर्वसचिव सिटौलाले आगामी आर्थिक वर्षको बजेटमा स्थान तोकेर नै फ्लाइओभर निर्माण गरिने घोषणा गरिएको निर्माण हुन्छ कि भनेर आशा जगाएको बताए। ‘आगामी आवको बजेटमा कलंकी कोटेश्वर खण्डमा तीन वटा फ्लाइओभर निर्माण गर्ने घोषणा गरिएको छ। त्यसैले यसपाली बन्ला कि भन्ने आशा गरेको छु ,’ उनले भने, ‘उपत्यकामा सवारीचाप अत्याधिक बढेकाले फ्लाइओभर निर्माण गर्नुको विकल्प छैन।’  

माइतीघर–त्रिपुरेश्वर सडकखण्डमा निर्माण गर्ने भनिएको चार लेनको  फ्लाइओभर पनि अन्योलमा छ। जाइकाले करिव चार वर्षअघि त्रिपुरेश्वर, थापाथली र माइतीघरलाई समेटेर फ्लाइओभरको सम्भाव्यता अध्ययन गरेको थियो। अध्ययन सम्पन्न गरिए पनि विस्तृत परियोजना प्रतिवेदन भने अझैसम्म बनेको छैन। यस क्षेत्रमा फ्लाइओभर निर्माणका लागि नेपाली सेना र थापाथली क्याम्पसको स्वामित्वमा रहेको जग्गा सरकार मातहत ल्याउनुपर्ने चुनौती देखिएको छ।  

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा पनि नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य सुरु गर्न बजेट व्यवस्थापन गरेर सम्बोधन गर्न खोजेका छन्। सडक विभागका महानिर्देशक केशव शर्माले यस अघिका फ्लाइओभर निर्माण गर्ने घोषणा जे जस्तो भएपनि आगामी आर्थिक वर्षमा निर्माण कार्यले गति लिने दावी गरे। ‘यस अघिका घोषणा के के भए।त्यसमा नजाऔं ,’ उनले भने, ‘अहिले भने सच्चिकै बन्छ।’ महानिर्देशक शर्माले कोटेश्वर कंलकी खण्डमध्ये ग्वार्को, सातदोबाटो र एकान्तकुनामा निर्माण हुने  फ्लाइओभरको विस्तृत अध्ययन प्रतिवेदनको लागि टेण्डर आब्हान गर्ने चरणमा पुगेको बताए।  

कहाँ–कहाँ आवश्यक ?

उपत्यकामा सवारीसाधनको अत्यधिक चाप भएसँगै धेरै स्थानमा फ्लाइओभर आवश्यक भइसकेको छ। त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगन्ज, सहिदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोंगबु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जडीबुटी लगायत स्थानमा फ्लाइओभर अत्यावश्यक भइसकेको पूर्वसचिव सिटौला बताउँछन्।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २५ जेष्ठ २०७७ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App