समाज

४० प्रतिशत खानेपानी पाईपबाटै चुहावट

दुई वर्षभित्रमा सुदृढिकरणको काम टुंगिने

पोखरामा दैनिक ५ करोड लिटरको पानीको आपूर्ति हुँदै आएको छ । आपूर्तिको ४० प्रतिशत पानी पाईपबाट चुहावट छ । चुहावटकै कारण पोखरामा खानेपानीको माग अनुसार आपूर्ति हुन सकेको छैन । माग पनि लगभग दैनिक ५ करोड लिटर नै छ । यद्यपी बढ्दो चुहावटकै कारण सास्ती छ ।  

नेपाल खानेपानी संस्थान पोखरा शाखाले दुई वर्षभित्रका पाईपबाट हुने पानीको चुहावट न्यूनीकरण गर्ने छ । चुहावट नियन्त्रणसँगै खानेपानीको सुदृढिकरणको लागि पाईप विस्तारको काम गरिएको छ । पाईप विस्तारको काम भने जापानीज संस्था जाईकाले गरिरहेको छ । जाईकाले पोखराका १९ वटै वडामा खानेपानी पहुँच पुर्‍याउन पाईप विस्तार गर्ने काम गर्दै आएको हो । एक वर्ष अघिदेखि पाईप विस्तार सुरु गरेको जाईकाले १३ किलोमिटर पाईप विस्तार गरिसकेको छ । लक्ष्य भने ९६ किलोमिटर पाईप विस्तार गर्ने हो ।  

‘खानेपानीको आपूर्तिले माग धान्छ । तर पाईपमा भएको चुहावट(लिकेज)ले समस्या बनाएको छ ’ नेपाल खानेपानी संस्थान पोखरा शाखाका सहायक इन्जिनियर सन्तोष दासले भने–‘हिउँदामा पानी कम आपूर्तिले समस्या हुँदा बर्षामा पाईप जाम हुने समस्याले संकट निम्त्याउँछ ।’ उनका अनुसार जमिन मुनि विछ्याईएको पानीमा हुने चुहावटले खानेपानीको समस्या न्यूनीकरण हुन सकेको छैन । संस्थानले सृजनाचोकदेखि पृथ्वीचोकसम्म पाईप विस्तार गर्ने योजनालाई फेरी सुरु गरेको छ । गतवर्ष पनि बर्षायामकै पूर्वसन्ध्यामा काम सुरु गरेको संस्थानले यो वर्ष पनि बर्षायाम अघि नै पाईप विछ्याउने काम गरिरहेको छ ।  

‘पानीको चुहावट नयाँ पाईप लाईन विस्तारपछि न्यूनीकरण हुन्छ ’ उनले भने–‘त्यसको लागि अझै दुई वर्ष कुुर्नुपर्ने छ ।’ सन २०२२ भित्रमा जाईकाले आफ्नो पाईप विस्तारको प्रोजेक्टलाई टुग्याउने छ । संस्थानले फलामको जिआई पाईप कालोपेत्र(अस्पाल्ट पीच) मुनि गाड्ने काम हुँदै छ । जाईकाले ६, १०, १२ र १६ इन्चको पाईपहरु विस्तार गरिरहेको छ । ‘मुख्य बजार क्षेत्रभित्र पाईप विस्तार भईसकेको छ ’ उनले भने–‘१३ किलोमिटर पाईप हालिसकिएको छ ।’ उनका अनुसार संस्थानले २० र १६ इन्च पाईप ट्रान्समिसनको रुपमा रहन्छ । १० र १२ इन्चको पाईपबाट भने वितरण र सहायक वितरणको रुपमा उपयोग हुने उनको भनाई थियो । जाईकाको ३ अर्ब ८० करोड रुपैयाँको योजना हो ।  

नयाँ पाईप लाईन विस्तारले केवल उत्पादन बढ्दैन । केवल नेटवर्कको मात्रै काम भएको संस्थानले उल्लेख गरेको छ । पोखरामा खानेपानी मुहान मर्दी खोला र पोखरामा खनिएका बोरिङबाट खानेपानीको आपूर्ति हुँदै आएको छ । संस्थानले जाईकाको योजना अनुसार पोखरा महानगरपालिकाको १४ र १५ वडामा पाईप विस्तार गर्ने छ । ‘दुई वडामा दशकिलोमिटर पाईप विस्तार गरिने छ’ उनले भने–‘जाईकाको डिजाईनमा छ तर लगानी भने संस्थानले व्यहोर्ने छ ।’  

जाईकाले खानेपानीको सुदृढिकरण गर्न हेमजा र पुरुन्चौर क्षेत्रमा दुईवटा ट्यांकी निर्माण गरेको छ । दुई ट्यांकीका जम्मा हुने फोहोर एंव थिग्रिने गिटी बालुवालाई सफा गरेर पानी ट्रिटमेन्ट गरिने छ । ट्रिटमेन्ट गरिएको पानी फुलबारी, पस्र्याङ र कोलपाटनको ट्यांकीसम्म पुर्‍याइने छ । ती ट्यांकीबाट खानेपानीको वितरण हुने संस्थानले उल्लेख गरेको छ । पोखरामा २० वटा व्यावसायिक बोरिङ छन् । 

अधिकांश लेकसाईडकका होटलले आफ्नै छुट्टै बोरिङ खनेका छन् । व्यावसायिक बोरिङबाट सिजनमा दैनिक ५० लाख लिटरसम्म आपूर्ति हुँदै आएको अन्नपूर्ण वाटर सप्लायर्स(बोरिङ) सञ्चालक योगेन्द्र शेरचन सुनाउँछन् ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०७:१७ आइतबार

खानेपानी पाईप चुहावट