समाज

डिस्चार्ज भएका दम्पती भन्छन् : उच्च मनोबलले कोरोनालाई जितेर फर्कियौं

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका दम्पती ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्राङ्गनमा शनिबार बेग्लै उत्साह देखियो । त्यहाँ पुगेका जो कोही पनि हर्षित देखिन्थ्ये । कोरोनालाई जित्न सफल भएका एक दम्पतीलाई स्वागत गर्न अधिकांश त्यहाँ पुगेका थिए । दम्पती जब आइसोलेसन कक्षबाट बाहिर निस्किए, हातमा पुष्प गुच्छा लिएर उभिएका खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायत आफन्त तथा शुभेच्छुकले स्वागत गरे । दुबै जनाको दोस्रो पटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएर नेपालगन्जस्थित घरमा पुगेका दम्पतीलाई वरपरका छिमेकीले पनि स्वागत गरे ।

कोरोना भाइरस नियन्त्रण तथा संक्रमितको ब्यवस्थापन गर्ने काममै खटिएको समयमा खजुरा गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत नर्स लक्ष्मी केसी ओलीलाई जेठ ८ गते कोरोना पोजेटिभ देखिएको थियो । कार्य क्षेत्रमै खटिएकी नर्स लक्ष्मीलाई कोरोना संक्रमण भएपछि उनी खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा गएर बसिन ।  

उनको परिवार, आफन्त तथा शुभेच्छुकले भने स्वास्थ्य लाभको कामना गरिरहे । लक्ष्मीलाई कोरोना संक्रमण भएपछि परिवारका सदस्यको कन्ट्रयाक्ट टे«सिङ गरेर पिसिआर परीक्षण गर्दा त्यसको तीन दिनपछि जेठ ११ गते उनका पति एवम् पत्रकार मेघराज ओलीलाई पनि कोरोना पोजेटिभ देखियो । तर, घरमा सँगै बसिरहेका उनका छोरा र छोरीको रिपोर्ट भने नेगेटिभ आयो । त्यसपछि दुबै दम्पती उपचारका लागि एउटै आइसोलेसनमा बसे । आइसोलेसनमा बसेको १६ औं दिनमा लक्ष्मी र १४ औं दिनमा मेघराजले कोरोनालाई जितेर डिस्चार्ज भए ।  

अस्पतालबाट डिस्चार्ज भएपनि करिव एक हप्ता जति होम क्वारेन्टिन बस्नेछन् । बिरामीको सेवामा खटिने लक्ष्मी र पत्रकारिता तथा राजनीतिमा सक्रिय मेघराजले आइसोलेसनमा रहँदा उच्च मनोबलका साथै खानपिन तथा शारिरीक ब्यायममा विशेष ध्यान दिएका थिए । जसले गर्दा कोरोना भाइरसलाई जित्न सहज भयो । लक्ष्मीले भनिन्, ‘आइसोलेसनमा रहँदा सबभन्दा त उच्च मनोबल राख्यौं, यसका साथै नियमित रुपमा शारिरीक ब्यायाम गर्ने र खानपिनमा ध्यान दियौं, तनाव मुक्त गराउन घर परिवार र आफन्तसँग फोनमा ब्यस्त भइयो ।’  

आइसोलेसनमा रहँदा कागती, बेसार, नुन, अदुवा र जडिबुटी हालेको तातो पानी पनि खाएको उनले सुनाइन् । चिकित्सकले अझै एक हप्ताजति होम क्वारिन्टिनमा बस्नुपर्ने सल्लाह दिएपनि लक्ष्मीको ध्यान भने आफ्नै कार्यालयको काम तिरै छ । ‘खासमा एक हप्ता जति होम क्वारेन्टिन बस्नुपर्ने हो, तर कार्यालयको काम अस्तब्यस्त भएको छ, दुई÷चार दिनमै काममा फर्किनु पर्ला,’ उनले थपिन् ।

आइसोलेसनबाट डिस्चार्ज भएपछि पत्रकार ओलीले देश र दुनियाँका हरेक मानवलाई आतंकित पारिरहेको कोरोना महामारीलाई बीर नेपालीका सन्तानको उच्च मनोबलले पराजित गरेरै छाड्ने बताए । उच्च मनोबल, पौष्टिक खानपिन र शारिरीक ब्यायामले गर्दा कोरोना भाइरसलाई जित्न सफल भएको उनको बुझाई छ । ‘मानिसमा छाएको मनोवैज्ञानिक आतंकलाई चिर्ने अभियानमा जुटौं, कोभिड–१९ लाई हामी बिरका सन्तानले जित्छौ, जित्छौ,’ पत्रकार ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । कोरोना संक्रमित ब्यक्तिको परिचय सरकारले गोप्य राखेपनि यि दम्पती आफै सार्वजनिक भएका हुन् ।  

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन ब्यवस्थापनमा सक्रिय रहँदै आएका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले संक्रमितको उच्च मनोबल र आइसोलेसनको ब्यवस्थापकीय पक्ष राम्रो भएका कारण अहिलेसम्म भर्ना भएका अधिकांशले कोरोनालाई जित्न सफल भएको बताए । ‘पहिलो कुरा त संक्रमित ब्यक्तिले मनोबल उच्च राखेर बस्नुपर्छ, दोस्रो कुरा यस आइसोलेसनमा हामीले कुनैपनि कुराको कमी हुन दिएका छैनौं,’ कक्षपतिले भने ।  

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट शनिबार ओली दम्पतीसहित नरैनापुरका अन्य दुई जना पुरुष डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । डिस्चार्ज भएका नरैनापुरका मध्ये एक जना प्रहरी समेत रहेको बताइएको छ । नरैनापुरस्थित एक क्वारेन्टिनमा ड्युटीमा खटिएका प्रहरीको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी पनि विगत लामो समयदेखी उक्त अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए ।  

 

फोटो क्याप्सन ः

१. 

२. सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएर आएका दम्पतीलाई स्वागत गर्दै छिमेकी ।

तस्बिर ः समिक्षा भुसालको फेसबुकबाट

 

प्रकाशित: २४ जेष्ठ २०७७ १४:०४ शनिबार

कोभिड १९ कोरोना मुक्त