समाज

वडाध्यक्षलाई लक्षित गरी बोत्तल हानिएको भन्दै कांग्रेसको ध्यानाकर्षण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यलाई लक्षित गरेर बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्य समितिले ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १८ गते वडाको काम सकेर योजना अनुगमनका लागि भवनगैराबाट आचार्य गाउँतर्फ झर्ने क्रममा वडाध्यक्ष आचार्यमाथि दिउँसो ३ बजे बियरको बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्यसमितिले विज्ञाप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो । कांग्रेस नगर कार्य समितिले वडाध्यक्ष आचार्यमाथि बोत्तल प्रहार गर्ने व्यक्तीको पहिचान गरी कानूनी कारबाही गर्न माग गरेको छ ।  

भवनगैराका व्यवसायी मुगा श्रेष्ठको घर अगाडि, जिल्ला समन्वय समितिको समिक्षालय हलभन्दा मुनि तथा पुष्पलाल स्मृति भवन अगाडि पुगेकाबेला वडाध्यक्षलाई लक्षित गरी बोत्तल हानिएको कांग्रेस नगर कार्य समितिका सभापति दुर्गाप्रसाद घिमिरेले बताए । एक जना आफन्तसँगै ओरालो झरिरहेका वडाध्यक्षको एक मिटर पछाडि सडकमा बोत्तल बजारिएर छरपष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘कसले बोत्तल हानेको’ भन्ने नखुलेको कांग्रेस नगर कार्य समितिले जनाएको छ । 

प्रकाशित: २२ जेष्ठ २०७७ ०८:५६ बिहीबार

वडाध्यक्ष ध्यानाकर्षण