समाज

संक्रमित पुरुषको सम्पर्कमा रहेका ३० जनाको रिपोर्ट नेगेटिभ

बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। पाटनको भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका ती पुरुषमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा रहेका ३१ जनाको स्वाब परीक्षण गरिएको थियो। ३१ जना मध्ये ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। संक्रमित युवकसँगै क्वारेन्टिनमा बसेका व्यक्ति, खाना पकाउने भान्छे र स्वास्थ्यकर्मीसहित ३१ जनाको स्वाब परीक्षण गरिएको हो।

संक्रमित पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ। बैतडीका पहिलो कोरोना संक्रमित बुधबार कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बैतडीका ६ जना संक्रमित मध्ये ४ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०५:१९ बिहीबार

कोरोना संक्रमित