समाज

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ। विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो।  

कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औंल्याउँदै सरकारले असार दोस्रो सातापछि अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महानगरको प्रत्येक वडामा खोलिने यस्ता सेन्टरमा विदेशबाट फर्किएकाहरूलाई राखिने बताए। विदेशबाट आउनेहरू सीधै उक्त सेन्टरमा तोकिएको अवधि बसेर आवश्यक परीक्षणहरू सकेपछि मात्रै घर जान पाउनेछन्।  

सामाजिक विकास समितिका संयोजक तथा वडा २४का अध्यक्ष दिनेश कार्कीले वडाहरूमा होल्डिङ सेन्टर बनाउन त्यस्ता ठाउँहरूको पहिचान भइरहेको बताए। होल्डिङ सेन्टर सामुदायिक भवन, पार्टी प्यालेस, विद्यालयलगायत ठाउँमा सञ्चालन गरिनेछ।

प्रकाशित: २० जेष्ठ २०७७ ०३:४५ मंगलबार

होल्डिङ सेन्टर ललितपुर महानगर