समाज

लकडाउनमा बढ्यो आत्महत्या र साइबर अपराध

सवारी दुर्घटनामा कमी

सरकारले कोरोना महामारीलाई नियन्त्रण गर्न गरेको लकडाउनको अवधिमा आत्महत्याका उल्लेख्य घटना भएका छन्। लकडाउनको ७० दिने अवधिमा नेपालमा कोरानाबाट आठ जनाको मृत्यु भएको छ तर आत्महत्या मर्नेको संख्या सुन्दै डरलाग्दो छ। दुई महिनाको हाराहारीमा नौ सय ८२ जनाले आत्महत्या गरेका छन्। छोटो समयमा यति धेरै संख्यामा आत्महत्याको घटना हुनु ज्यादै गम्भीर चिन्ता र चिन्तनको विषय हो।

प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वमन्त्री लालबाबु पण्डितले कोरोना भाइरसमा मुलुकको ध्यान गइरहेको बेलामा आत्महत्याका घटना बढेको बताएका थिए। उनले यसको रोकथामको लागि केन्द्रीय सरकारले चासो दिनुपर्ने माग राखेका थिए।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश ५ मा आत्महत्याका घटना भएका छन्। प्रदेश ५ का विभिन्न जिल्लामा दुई महिनामा दुई सय २५ जनाले आत्महत्या गरेका छन्। यो अवधिमा प्रदेश १ मा एक सय ६६ जना, प्रदेश २ मा एक सय २३ जना, प्रदेश ३ मा एक सय ४१ जना, प्रदेश ४ मा एक सय १६ जना, प्रदेश ६ मा ५४ जना र प्र्रदेश ७ मा सय जनाले आत्महत्या गरेका छन्।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरज शाहीले छोटो अवधिमा आत्महत्याका घटना धेरै हुनु दुःखद रहेको बताए। उनले आत्महत्या हुनुको कारणमा सामाजिक, आर्थिक, मनोवैज्ञानिकसँगै लकडाउन पनि जोडिएको बताए। ‘यो समयमा धेरै मानिस खाली छन्, धेरैको रोजगारी गुमेको छ, गरिबी झन् बढेको छ, यस्ता कारणले पनि आत्महत्या बढ्न सक्छ,’ उनले भने।  

लकडाउनको बेला यसअघि हुने अन्य अपराधमा भने कमी आएको छ। तर सबै अपराध घटे पनि आत्महत्यामा कमी नआउनु दुःखद् रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए। उनले घरमै बसिरहेको बेला आत्महत्या बढेकाले किन आत्महत्या बढ्यो भन्ने प्रश्न उब्जाएको बताए। ‘अरू अपराधका घटनाजस्तै यसमा पनि कमी आउला भन्ने हामीले सोचेका थियौं, तर झन् बढेको पाइयो,’ उनले भने।

उनका अनुसार लकडाउनका बेला आत्महत्या हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरेको छैन। तर एकैठाउँ बसिरहँदा मानिसहरू तनाव हुने, आफन्तसँग भेटघाट नहुने, रोजगार रोकिने, एक्लै बस्दा एकोहोरो हुने, घरायसी झगडा हुने, डिप्रेसनमा जानेजस्ता कारणले आत्महत्या बढेको प्रहरीको अनुमान छ।

किन बढ्यो आत्महत्या ?

त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक सरोज ओझाले लकडाउनका कारण मान्छे स्वतन्त्र नभएको, एकाग्रमा बस्दा डिप्रेसनमा गएको र आत्महत्यासम्म गरेकोे बताए। उनले भने, ‘अहिले भएका आत्महत्यालाई आवेशमा गरिएको घटना भन्न मिल्छ, लकडाउनपछि धेरै मानिसहरू बेचैन छन्, मनमा डर–त्रास बिझाइरहेको छ, कोही मानिस घरबाट टाढा छ, कतिको सम्बन्ध बिग्रेको हुनुसक्छ, यस्ता कारणले आत्महत्या बढाएको छ।’ उनका अनुसार पहिलेदेखि नै मानसिक रोगी भएकाहरूले पनि आत्महत्या गरेका छन्। ‘महामारीपछिको दिनमा डिप्रेसनका बिरामीको संख्या बढ्ने देखिएको छ, यसलाई रोक्न अहिलेदेखि नै पाइलाहरू चाल्नुपर्छ,’ उनले भने, ‘क्षणभरको निर्णयले कसैले पनि आफूलाई विलिन गराउनुहुँदैन।’

कतिपय मानिसले लकडाउनको समयलाई राम्ररी सदुपयोग गरे पनि केही व्यक्ति भने खाली छन्। खाली हुँदाको समयमा अधिकतरले रचनात्मक काम गरे पनि केहीले प्रविधिको दुरुपयोग गरेका छन्।

सरकारले लकडाउन गरिरहेको बेला आत्महत्या बढेको छ। यस्तोबेला सरकारले जनचेतनामुलक कुनै कार्य गरेको छैन। मानिसहरू बेरोजगार भएका छन्। एक्लो र परिवारसँग विचलित भएर बसेका छन्। यस्तो अवस्थामा आत्महत्यालाई न्यूनीकरण गर्नका लागि सरकारले हटलाइनमार्फत परामर्श दिनुपर्ने मनोचिकित्सक ओझाले बताए। कोरोना सँगसँगै आत्महत्या रोकथामका लागि जनचेतना प्रवाह गर्नु पनि अहिले मुख्य कार्य भएको उनको भनाइ छ। यस्तो बेला अभिभावकले आफ्ना छोराछोरीको मन बुझिदिने, सामाजिक सहयोग गरिदिने, समस्या बुझिदिने, विचलित हुन नदिनेजस्ता कार्य गर्न आग्रह गरे।

मानसिक अस्पताल पाटनका मनोचिकित्सक बासुदेव कार्कीले लकडाउनको बेला डिप्रेसन र आत्महत्या गर्नेको संख्या बढेकाले यसलाई रोक्नतर्फ सबैले ध्यान दिनुपर्ने बताए। उनले अनलाइन तथा हटलाइन सेवामार्फत परामर्श दिनुपर्ने आवश्यकता देखिएको जानकारी दिए। ‘अहिले मानसिक रोगीहरू अस्पताल आउन पाएका छैनन्,’ उनले भने, ‘उनीहरू घरमै बसेका छन्, त्यस्ता बिरामीहरूले बढी आत्महत्या गरेका छन्।’  

डिप्रेसन बढाउँदै साइबर अपराध

कतिपय मानिसले यो समयलाई राम्ररी सदुपयोग गरे पनि केही व्यक्ति भने खाली छन्। खाली हुँदाको समयमा अधिकतर व्यक्तिले रचनात्मक काम गरे पनि केहीले प्रविधिको दुरुपयोग गरेका छन्। सामाजिक सञ्जालमा अरूलाई होच्याउने, गाली गर्ने, अश्लील भिडियो बनाउने, फोटो जोड्ने, फोन र म्यासेज गरेर हैरान पार्ने, नचाहिँदा गु्रप च्याट बनाउनेजस्ता गलत कार्य गरेको पाइएको छ। यसले लकडाउनको बेला केही व्यक्तिहरू डिप्रेसन जाने वा आत्महत्या गर्नेसम्म घटना हुनसक्ने प्रहरीको अनुमान छ। साइबर ब्युरोका एसपी राकेश सिंहले अरूमाथि प्रतिशोध राखी चरित्र हत्या गर्नका लागि सामाजिक सञ्जाल सजिलो माध्यम भएकाले यस्तो कार्यले प्रश्रय पाइरहेको बताए। उनले लकडाउनको बेला ब्युरोमा उजुरी दिनेको संख्या बढेको जानकारी दिए। ‘अहिले अदालतले नै खासखास अपराधमा मात्रै मुद्दा चलाउन भनेको छ,’ उनले भने, ‘त्यसकारण पनि सामाजिक सञ्जालमा विकृति बढेको हो।’

सवारी दुर्घटनामा कमी

लकडाउनका बेला सवारी दुर्घटनामा भने केही कमी आएको छ। तथापि लकडाउनको उल्लंघन गर्दै तीब्र गतिमा सवारी हाँक्दा दुई महिनामा एक हजार एक सय ६९ वटा सवारी दुर्घटना भएका छन्, जसमा एक सय १५ जनाको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनराम श्रेष्ठका अनुसार लकडाउनको बेला सवारी दुर्घटनामा परी उपत्यकाका १३ जना तथा उपत्यकाबाहिर एक सय दुई जनाको मृत्यु भएको छ।  

प्रहरी प्रधान कार्यालयमा लकडाउन अवधिभर सबैखाले गरी तीन हजार ४ सय ९३ वटा आपराधिक घटना भएका छन्। लडकडाउनअघिको तथ्यांकसँग दाज्दा यो संख्या अत्यन्तै थोरै हो। अरू समयमा १५ दिनमा हुने अपराध अहिले दुई महिनामा भएको प्रहरीको भनाइ छ। प्रहरी प्रधान कार्यालयले साइबर अपराध तथा आत्महत्या बढेको भए पनि अन्य अपराध तथा दुर्घटना न्यून देखिएको जनाएको छ।

प्रधान कार्यालयका प्रवक्ता निरज शाहीले लकडाउनमा पहिले गने गरेका प्रकृतिका अपराधमा उल्लेख्य कमी आएको बताए। ‘लकडाउनको बेला अपराध भएकै छैन भन्न मिल्दैन तर पहिलेको तुलनामा धेरै कम छ,’ उनले भने। दुई महिनाको अवधिमा प्रहरीमा दर्ता भएका मुद्दामध्ये ज्यान मार्ने उद्योगका आठ सय ३५, आत्महत्याका नौ सय ८२, चोरीका एक सय ११, सांगठनिक तथा आर्थिक अपराधका दुई सय ७२, सामाजिक अपराधका ६ सय ४५, महिला तथा बालविवाहका तीन सय ३२, सवारी दुर्घटनाका एक सय ११ र विविध अपराधका एक सय ८८ वटा छन्।

प्रकाशित: २० जेष्ठ २०७७ ०२:५५ मंगलबार

लकडाउन प्रभाव साइबर अपराध