कुनैबेला पूर्वी नेपालमा शसस्त्र आन्दोलन चर्काएको किरात जनवादी वर्कर्स पाटीका दुई कार्यकर्ता रिहा भएका छन् । डाका मुद्धामा जिल्ला कारागार शाखा ईलाममा जेल परेका दावा शेर्पा र अवैध चन्दा असुलीमा जिल्ला कारागार शाखा खोटाङमा जेल जीवन विताइरहेका क्रान्तीलाल भनिने तौलवकुमार राई रिहा भएका हुन् ।
शेर्पा कारागार चलान भएको ७ वर्षपछि शुक्रबार र राई जेल परेको १८ महिनापछि आईतबार जेलमुक्त भएको किरात जनवादी वर्कर्स पाटीका संयोजक एबं प्रवक्ता बिरु किरातीले जानकारी दिए । अन्य पाँच कार्यकर्ता अझै पनि विभिन्न जेलमा जेल जीवन बिताइरहेका किरात जनवादी वर्कर्स पाटीले जनाएको छ ।
बिभिन्न ठाउँमा जबरजस्ती चन्दा उठाउने कार्य सम्बन्धी मुद्धामा जिल्ला अदालत सोलुखुम्बुबाट २०७३ साल जेठ ३१ गते २ वर्ष कैंद र २ हजार जरिबाना सजाय सुनाइएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका राई २०७५ साल मंसिर १० गते कारागार चलान भएका थिए । तौलवकुमारसँगै एउटै मुद्धामा सँगै जेल परेका सोही ठाउँका ईश्वरकुमार राई गत फाुगनमै छुटिसकेका छन् । साबिकको जलेश्वरी–१ निवासी तौलवकुमार र ईश्वरकुमार वर्कर्सका केन्द्रीय सदस्य हुन् । पाटीका संयोजक एबं प्रवक्ता किरातीका अनुसार रिहा हुने शेर्पा पाटीका साधारण सदस्य हुन् । गृह–मन्त्रालयबाट सजाय मिनाहा भएर एक जनालाई छाड्नका लागि आदेश आए पनि उनी किरात जनवादी वर्कर्स पाटीका कार्यकर्ता भएको विषयमा जानकारी नभएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
२०७१ साउन ११ गते ईलामको चियाबारी कटेजमा सरकार र किरात जनबादी वर्कर्स पाटी (बिद्रोह समुह) बीच भएको वार्ताको चार बुँदे शर्त अनुसार आफूहरुले सरकारलाई हतियार बुझाए पनि सरकारकातर्फबाट शर्त पालनामा आनाकानी भएको पाटी संयोजक एबं प्रबक्ता किरातीले बताए । ईलाममा भएको छैठौं वार्ताको शर्त अनसार वर्कर्स (बिद्रोह समूह) ले २०७१ पुस २२ गते खोटाङका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा मार्फत सरकारलाई तीन थान थ्रिनटथ्रि राइफल बुझाएको थियो ।
जातीय राज्यको माग राखी पूर्वी पहाडी जिल्लामा भूमिगतरुपमा सशस्त्र गतिविधि सञ्चालन गरेको वर्कर्सले २०६४ माघ ७ गते खोटाङको फाक्टाङ, देविस्थान र चिसापानी प्रहरी चौकी आक्रमण तथा २०६७ बैसाख १४ गते नुनथला प्रहरी चौकीमाथि आक्रमण गरेर हतियार लुटेका थिए ।
प्रकाशित: १९ जेष्ठ २०७७ १५:४८ सोमबार