समाज

भारत तथा तेश्रो मुलुकबाट आएकालाई फरक–फरक क्वारेन्टीनमा राख्ने तयारी

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भारत, तेश्रो मुलुक तथा नेपालकै विभिन्न स्थानबाट घर आएका नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टीनमा राख्ने तयारी गरेको छ । लकडाउनका कारण विभिन्न देशमा रहेका रोजगार गुमाएका नागरिकलाई सरकारले स्वदेश फर्काउने तयारी गरेसँगै गाउँपालिकाले उनीहरुलाई फरक–फरक क्वारेन्टीनमा राख्ने तयारी गरेको हो । गाउँपालिकास्थित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धी कार्यदलको सोमबार बसेको बैठकले भारतबाट आउने स्थानीयलाई भँडारेघाटमा, तेश्रो मुलुकबाट आएका स्थानीयलाई याम्खामा तथा नेपालकै विभिन्न ठाउँबाट आएका स्थानीयलाई गाउँपालिकाले तोकेको स्थानमा राख्ने निर्णय गरेको हो ।  

भारतबाट आउने व्यक्तीबाट कोरोनाको संक्रमण भित्रिने त्रास बढि देखिएको तथा उनीहरुलाई एकै ठाउँमा राख्दा अन्य व्यक्तीलाई पनि संक्रमण हुने त्रास भएकाले उनीहरुलाई अलग–अलग स्थानमा राख्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले बताए । नेपालकै विभिन्न स्थानबाट आएका व्यक्तीलाई भने टेम्मा, डाँडागाउँ, सछितापोखरी र छोरम्बुमा बनाइएको क्वारेन्टीनमा राख्ने तयारी गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका ३ सय ७ युवा घर फर्कने तयारीमा छन् ।  

हाल गाउँपालिकाको विभिन्न स्थानको क्वारेन्टीनमा ५० जना स्थानीय बसिरहेका छन् । यसअघि १ सय ८१ जना स्थानीय क्वारेन्टीनमा बसेर घर फर्किसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले बताए ।  

प्रकाशित: १९ जेष्ठ २०७७ १२:५३ सोमबार

क्वारेन्टीन